‘मर्केलको फोन निगरानीबारे ओबामालाई बताइएको थिएन’

अमेरिकि जासुसी निकाय न्यासनल सेक्युरिटि एजेन्सी, एनएसएका प्रमुखले, जर्मन चान्सलर एंगेला मर्केलको फोनमाथि जासुसी निगरानी गरिएको भन्ने बारे राष्ट्रपति बराक ओबामासंग छलफल नगरेको अधिकारीहरुले बताएका छन्।
जनरल किथ एलेक्जाण्डरले चान्सलर मर्केलसम्बन्धी प्रकरणबारे कहिलै कुराकानी नगरेको एनएसएकि प्रवक्ताले जनाएकी छन्।
जर्मन सञ्चार माध्यमले चान्सलर मर्केलको फोन सन् २००२ देखिनै निगरानी गरिएको र त्यसबारे राष्ट्रपति ओबामालाई सन् २०१० मै जानकारी दिइएको खबरहरु प्रकाशित गरेका छन्।
सम्बन्ध चिसियो
यी खबरका माझ दुई देशको सम्बन्ध चिसिएको छ।
बीबीसीका स्टेफन इभान्स भन्छन् पछिल्ला खबरहरुले जर्मन चान्सलर एंगेला मर्केल साँच्चिकै स्तब्ध भएकि छन्।
उनी निकटका व्यक्तिहरुले बीबीसीलाई बताए अनुसार मर्केलले यस घटनालाई व्यक्तिगत अपमानकै रुपमा लिएकि छन्।
जब जुन महिनामा ओबामा बर्लिन पुगे त्यतिखेर दुई नेताबीच हार्दिक सम्बन्ध देखिएको थियो।
मर्केल हम्मेसी आफ्ना भाव लुकाउँदिनन्। जस्तो कि इटलीका विवादास्पद नेता सिल्भियो बेर्लुस्कोनीलाई भेट्दा उनको मुहारमा झल्कने असन्तुष्टिका भाव ओबामालाई भेट्दा न्यानो आत्मीयतामा बदलिएको सहजै देखिन्थ्यो।

त्यसमाथि शायद मर्केलको पूर्वी जर्मनीको पृष्ठभूमिका कारणपनि उनलाई धोकाको बढी बोध भएको हुन सक्ने बताइन्छ।
किनकि शीत युद्ध ताका पूर्वी जर्मनीमा जासुसीको जालो बाक्लै हुने गर्थ्यो। उनले त्यस्तो जासुसी पूर्वी जर्मनीको त्यतिखेरको स्टासीबाट त अपेक्षा गरेकी होलीन् तर आफ्नो नयाँ मित्रबाट पक्कै गरेकि थिइनन्।
इभान्स भन्छन् अरुहरुलेपनि धोकाको अनुभूति गरेका छन्। शुरुमा जब अमेरिकाले व्यापक रुपमा फोनको निगरानी गरेको खबर आयो धेरैले त्यसलाई उत्ति गम्भीरतापूर्वक लिएनन्। आतंकवादसंग त्यसलाई जोडेर हेरियो। तर अहिले तिनै व्यक्तिहरु अमेरिकासंग क्रुद्ध भएका छन्।
अमेरिकाले जर्मनीको कानुन तोडेको उनीहरु बताउँछन्।
जे होस्, यस घटनाले अमेरिका र जर्मनीबीच सबभन्दा गम्भीर कुटनीतिक समस्या सिर्जना गरिदिएको छ।
जर्मन अखबार बिल्ड आम सोन्टागमा प्रकाशित समाचारले एनएसएका प्रमुखले ओबामालाई निगरानीबारे बताएको तर ओबामाले त्यसलाई नरोकेको जनाएको छ।
बरु आफुले मर्केललाई विश्वास गर्न नसक्ने भनेको सो समाचारमा उल्लेख छ।
तर एनएसएले विज्ञप्ति प्रकाशित गरि सो समाचारको खण्डन गरेको छ।




















