नेपाली कांग्रेस महाधिवेशन: दोस्रो चरणको मतदान सकियो, देउवालाई समर्थन गरेपछि निधि र सिंहले के भने?

नेपाली कांग्रेस

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, मतदानका लागि लाइन लागेका महाधिवेशन प्रतिनिधिहरू
Published

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनमा सभापतिको निर्वाचनका लागि दोस्रो चरणको मतदान सम्पन्न भएको छ।

पहिलो चरणका पाँच उम्मेदवारमध्ये दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको हो।

पहिलो चरणको मतदानमा देउवा पहिलो स्थानमा थिए। तर उनले निर्वाचित हुन आवश्यक ५० प्रतिशतभन्दा बढी मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो।

मङ्गलवार अपराह्णदेखि सुरु भएको मतदान राति साढे ९ बजेतिर सकिएको हो।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बेलुका ९:४५ मा बीबीसीसँग भने: "मतदान गर्ने कार्य सकिएको छ अब हामी केही बेरमा मतगणना प्रक्रिया पनि सुरु गर्छौँ।"

उनका अनुसार बुधवार बिहानसम्ममा मत परिणाम आउने अपेक्षा गरिएको छ।

सोमवारको मतदानको मत परिणामअनुसार पाँच उम्मेदवारमध्ये सबैभन्दा धेरै मत प्राप्त गरेका देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो।

पहिलो चरणपछि प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका थिए।

दोस्रो चरणमा उनीहरूले देउवालाई समर्थन गर्ने घोषणा गरेका थिए।

देउवालाई समर्थन गरेका निधि र सिंहले के भने?

सोमवार दोस्रो चरणमा मतदान भए कुनै पनि हालतमा आफूले देउवालाई नसघाउने बताएका निधिले मङ्गलवार देउवाले उनको निवासमै पुगेर भेटेपछि समर्थन गर्न राजी भएका थिए।

देउवा

तस्बिर स्रोत, RSS

त्यसबारे सोधिएको प्रश्नमा सङ्क्षिप्त उत्तर दिँदै निधिले बीबीसीलाई भने, "दोस्रो चरणमा मतदाताको निर्णयलाई आत्मसात् गर्दै मैले उहाँलाई समर्थन गरेको हो।"

"दोस्रो चरणमा समर्थनका लागि आग्रह गर्न घरमा आउनुभयो, फोन पनि गर्नुभयो। मैले उहाँलाई समर्थन गरेँ।"

त्यस्तै पहिलो चरणको चुनावमा अहिलेकै सभापतिलाई चयन गर्न मतदाताहरूले मनसाय देखाएकाले आफूले देउवालाई समर्थन गरेको सिंहले बताएका छन्।

सिंहले बीबीसीसँग कुरा गर्दै भने, "मैले उठाएको केन्द्रीय नेतृत्वको परिवर्तनको मागलाई नेपाली कांग्रेसका अधिकांश महाधिवेशन प्रतिनिधिले अस्वीकृत गरेकाले मैले सभापति चुनावमा भाग त लिएँ तर मैले उठाएको अजेन्डा अस्वीकृत भएपछि मैले उहाँलाई समर्थन गरेको हो।"

उनले देउवाले पार्टीलाई रूपान्तरण गर्ने र विधिसम्मत तरिकाले चलाउने प्रतिबद्धता जनाएकाले उनलाई समर्थन गरेको बताए।

कांग्रेसको विधानअनुसार पहिलो चरणबाटै सभापतिको परिणाम आउन सभापतिका उम्मेदवारमध्ये कुनै एक जनाले ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ।

शेखर

तस्बिर स्रोत, Rss

सोमवार राति सम्पन्न निर्वाचनमा कुल ४,७४३ जना महाधिवेशन प्रतिनिधिमध्ये ४,६७९ ले मत खसालेको बताइएको छ।

देउवाले २,२५८ अर्थात् ४८.२५ प्रतिशत र कोइरालाले १,७०२ मत मत प्राप्त गरेका थिए।

प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले क्रमश: ३७१, २५० र २२ मत प्राप्त गरेका थिए। कुल खसेको मतमध्ये ७६ बदर भएको पार्टीले जनाएको छ।

सभापति पदबाहेकका उम्मेदवारले भने ५० प्रतिशत बढी ल्याउनुपर्ने बाध्यता छैन।

बाँकी पदमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।

महत्त्वपूर्ण महाधिवेशन

नेपालमा सङ्घीय व्यवस्था कार्यान्वयन भएपछि पहिलो पटक नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४ मंसिरबाट सुरु भएको हो।

क्रियाशील सदस्यमा यस पटक नवीकरण गर्नेभन्दा केही प्रतिशतले बढी नयाँ सदस्य आएकाले त्यसको प्रभाव नेतृत्व चयन कसरी पर्छ भन्ने चासोपूर्वक हेरिएको छ।

यस महाधिवेशनमा पहिलो पटक सबै पदाधिकारीहरू निर्वाचनको विधिबाट चयन हुँदैछन्।

केन्द्रीय समितिको १३४ पदमा निर्वाचन हुनुपर्नेमा दुई जना निर्विरोध निर्वाचित भइसकेका छन्।

नेपाली कांग्रेस

तस्बिर स्रोत, RSS

चौध पदाधिकारीमा सभापतिबाहेक दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष छानिँदैछन्।

कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट एक जनालाई सभापतिले सिफारिस गर्ने अनि केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ।

खुलातर्फ ३५ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ भने बाँकी प्रादेशिक प्रतिनिधित्व एवं समावेशी प्रतिनिधित्व हुनेगरी चयन गरिँदैछ।

कुल १६७ सदस्यीय केन्द्रीय समितिमध्ये २० प्रतिशत अर्थात् ३३ वटा पदमा सभापतिले मनोनीत गर्न पाउँछन्।

अघिल्लो महाधिवेशनमा के भएको थियो?

विसं २०७२ साल फागुनमा भएको अघिल्लो महाधिवेशनमा पहिलो चरणबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी नल्याएपछि दोस्रो चरणबाट सभापति चयन भएको थियो।

पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदा तेस्रो भएका कृष्णप्रसाद सिटौलाको समूह निर्णायक बन्यो।

दोस्रो चरणमा सिटौला पक्षको समर्थन देउवाले प्राप्त गरे र सभापतिमा निर्वाचित भए।

तेह्रौँ महाधिवेशनको दोस्रो चरणमा देउवाले १,८२२ मत प्राप्त गर्दा तात्कालिक कार्यवाहक सभापति पौडेलले १,२९६ मत ल्याएका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कांग्रेस महाधिवेशन: 'पदाधिकारीमा पनि ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्‍यो'