भारत नागाल्यान्ड : सैन्य कारबाहीमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु

नक्सा
Published

भारतको उत्तरपूर्वी राज्य नागाल्यान्डमा गए राति भएको सैन्य कारबाहीमा कम्तीमा १३ सर्वसाधारणको मृत्यु भएको विवरण प्राप्त भएको छ। घटना म्यानमारसँगको सीमा नजिकै भएको हो।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार गस्ती गरिरहेको सैन्य टोलीले खानीमा काम गर्ने स्थानीयहरू कामबाट फर्किरहेका बेला मोन जिल्लामा भुलवश गोली चलाएको थियो।

मृत शरीर थुपारिएको ट्रक फेला पारेसँगै क्रुद्ध बनेका स्थानीयहरूले सुरक्षा अधिकारीमाथि आक्रमण गरेका थिए। उनीहरूले सेनाको गाडी जलाइदिएको बताइएको छ।

एक सेनाको समेत ज्यान गएको उक्त घटना प्रति भारतीय सेनाले गम्भीर दुख व्यक्त गरेको छ।

भारतका गृह मन्त्री अमित शाहले हत्याको खबरले आफू दुखी भएको बताउँदै राज्य सरकारले घटनाबारे छानबिन सुरु गरेको जनाएका छन्।

नागाल्यान्डमा सुरक्षा निकायहरूले वर्षैदेखि पृथक्तावादी लडाकुहरूसँग युद्ध गरिरहेका छन्।

सेना

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, साङ्केतिक तस्बिर

घटना पश्चात् भारत सरकारको तर्फबाट एक विज्ञप्ति जारी गरिएको छ।

''उग्रवादीहरूको सम्भावित गतिविधि बारे विश्वस्त गोप्य सूचना प्राप्त भएको थियो। त्यसैको आधारमा नागाल्यान्डको मोन जिल्लास्थित तिरु इलाकामा एउटा कारबाहीको योजना बनाइएको थियो। उक्त घटना प्रति गहिरो खेद छ। आम सर्वसाधारणहरूको दुर्भाग्यपूर्ण मृत्युको कारण बारे उच्चस्तरीय जाँच गरिराखिएको छ। यस मामिलामा कानुनी हिसाबले उचित कारबाही गरिने छ,'' विज्ञप्तिमा उल्लेख छ।

राज्यका मुख्यमन्त्री नेफियू रियोले ट्विट गर्दै आम सर्वसाधारण मारिनु निकै दुखद रहेको भन्दै घटनाको निन्दा गरेका छन्।

समाचार संस्था पीटीआईका अनुसार सेनाले कोर्ट अफ इन्कवाएरीको आदेश दिएको छ।

मुख्यमन्त्री नेफियू रियो

तस्बिर स्रोत, Getty Images

मोन क्षेत्रलाई नगा समूह एनएससीएन(के) र उल्फाको गढ मानिन्छ। पछिल्लो घटना राज्यमा मनाइने लोकप्रिय ''हर्नबिल फेस्टिबल'' भन्दा ठिक अघि भएको छ।

''यो घटनामा १४ जना मारिएको जानकारी प्राप्त भएको छ र कैयौँ मानिस घाइते भएका छन्। कैयौँ मानिस बेपत्ता रहेको बताइ राखिएको छ। हामी यो सूचनाको प्रतीक्षा गरिरहेका छौँ,''

इस्टर्न नागाल्यान्ड पिपल्स अर्गनाइजेसनका अध्यक्ष केकोंगचिम यिमयुंगरले बीबीसी हिन्दीसँग कुरा गर्दै भने।

केकोंगचिमका अनुसार घटनास्थल आसपासमा सम्पर्क हुन सकेको छैन। त्यहाँ इन्टरनेट र एसएमएस सेवा बन्द गरिएको छ।