टी-२० विश्वकप क्रिकेट: अस्ट्रेलिया र न्युजील्यान्डबीच फाइनल प्रतिस्पर्धा, निर्णायक हुन सक्ने तीन कुरा

अस्ट्रेलिया र न्यूजिल्यान्डबीच आज फाइनल प्रतिस्पर्धा

तस्बिर स्रोत, BLACKCAPS

Published

टी-२० विश्वकपको फाइनल खेलमा अस्ट्रेलिया र न्युजील्यान्ड पुग्ने कमैले अनुमान गरेका थिए।

दाबेदार टोलीहरू एक पछि अर्को गर्दै बाहिरिएसँगै पुराना प्रतिद्वन्द्वीले आइतवार दुबईमा हुने फाइनल खेलका लागि आफ्नो स्थान सुरक्षित गरे।

न्यूजील्यान्डले यो उपाधि उचाल्न सके त्यो यो वर्ष उसका लागि अर्को महत्त्वपूर्ण उपलब्धि हुनेछ।

प्रतियोगा सुरु हुँदा ''कम आँकिएको'' अस्ट्रेलियाका लागि एसेस हुनु चार हप्ताअघि अर्को एउटा कप जोड्ने मौका छ।

समूह चरणमा दुवै देशले हार बेहोरेका थिए। अस्ट्रेलियालाई इङ्गल्यान्डले हारको स्वाद चखाएको थियो भने न्युजील्यान्डलाई पाकिस्तानले सहजै पराजित गरेको थियो।

तर दुवैले सेमिफाइनल खेलमा अपेक्षा गरिएभन्दा फरक नतिजा निकाले।

न्युजील्यान्डले प्रतियोगिताको प्रबल दाबेदार मानिएको इङ्गल्यान्डलाई हरायो भने अस्ट्रेलियाले नाटकीय रूपमा पाकिस्तानको अविजित यात्रामा रोक लगायो।

''हामीलाई सबैले सम्भावना नभएको टोलीका रूपमा हेरेका थिए। तर हामीसँग निकै आत्मविश्वास थियो,'' अस्ट्रेलियाका कप्तान आरन फिन्चले भनेका छन्।

''यो अनपेक्षित होइन। हामी यो प्रतियोगिता जित्ने स्पष्ट योजना लिएर आएका थियौँ र हामीसँग त्यस्तो गर्न सक्ने टोली रहेको विश्वास छ।''

न्यूजिल्यान्ड

तस्बिर स्रोत, BLACKCAPS

यो वर्षको सुरुवातमा न्युजील्यान्डले आफ्नो क्रिकेट इतिहासमा सबैभन्दा महत्त्वपूर्ण जित हासिल गर्न सफल भएको थियो।

उसले टेस्ट क्रिकेट च्याम्पियनशीपमा भारतलाई हरायो र विश्वको पहिलो टेस्ट च्याम्पियन बन्यो।

पछिल्ला दुई वटा एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा पुगेर हारेको न्युजील्यान्डसँग सेतो बल प्रयोग हुने विश्वकप खेल पहिलो पटक जित्ने मौका छ।

''यो एक उपलब्धि हुने थियो,'' कप्तान केन विलियमसनले भनेका छन्।

दुवै टोलीले निकै राम्रो पुनरागमन गर्दै सेमिफाइनलमा जित निकालेका थिए।

तर आज हुने खेलमा बाजि कसले मार्ला त?

वेस्ट इन्डिजका टी-२० विश्वकप विजेता खेलाडी कार्लोस ब्रेथवेटले यसका तीन कुरा निर्णायक हुने बताएका छन्:

टस

फाइनल खेलमा दुवै टोलीका लागि टस निकै महत्त्वपूर्ण हुने छ।स्थानीय समय अनुसार खेल साढे ६ बजे सुरु हुनेछ। जसको अर्थ रङ्गशाला बत्ती बलेको हुने छ। मैदानमा शीत हुने हुँदा पहिले ब्याटिङ गर्ने टोलीलाई कठिन हुनेछ।प्रतियोगितामा सुपर १२ मा खेलिएका ३२ खेलमध्ये २१ मा पहिले बलिङ गर्ने टोलीले जितेका छन्।

र दुबईमा भएका १२ मध्ये ११ खेल पछि ब्याटिङ गर्ने टोलीले जितेका छन्।मैदानमा हुने शीतले बलरहरूलाई गाह्रो पार्ने छ। शीतको प्रभाव पिचमा पनि रहन्छ।

वार्नरको विकेट महत्त्वपूर्ण

अस्ट्रेलियाका खेलाडी

तस्बिर स्रोत, CRICKETAUS

इन्डियन प्रिमिअर लिगका बेला डेभिड वार्नर लयमा नरहेको कुराले चर्चा पाएको थियो।

उनले आफू फर्ममा रहेको तर धेरै क्रिकेट खेल्न भने नपाएको बताएका थिए।

१४८.४२ को स्ट्राइक रेटमा उनले टी-२० विश्वकपका छ खेलमा २३६ रन जोडेका छन् र आफूलाई सही साबित गरेका छन्।

उनले कति रन जोड्छन् वा कति चाँडो रन जोड्छन् भन्ने कुराभन्दा महत्त्वपूर्ण उनी कति लामो समय क्रिजमा टिक्छन् भन्ने हो।

यदि पाकिस्तानसँगको खेलमा जस्तै उनी टिक्न सफल भए दायाँ हाते अस्ट्रेलियन ब्याटिङ लाइनअपलाई राहत मिल्नेछ।

खेलको दबाव

अस्ट्रेलिया र न्यूजील्यान्डको खेल्ने शैली एकै खाले छ: पावर प्लेमा कडा रूपमा प्रस्तुत हुने, बीचका ओभरहरूमा लय कायम राख्ने र अन्तिम ओभरहरूमा विस्फोटक रूपमा बललाई प्रहार गर्ने।

धेरै खेलकुद प्रतियोगिताका फाइनल खेल जस्तै कसले खेलको दबाव राम्रोसँग झेल्छ भन्ने कुरा आजको फाइनल खेलमा महत्त्वपूर्ण हुनेछ।