अमेरिका: खर्चविहीन हुनबाट जोगियो सरकार

अमेरिका

तस्बिर स्रोत, Getty Images

Published

अमेरिकी राष्ट्रपति जो बाइडनले डिसेम्बर महिनाको पहिलो हप्तासम्म सरकारले खर्च गर्न पाउने विधेयकलाई प्रमाणीकरण गर्दै अस्थायी कानुनी व्यवस्था ल्याएर पुनः सरकार ठप्प रहने अवस्था रोकेका छन्।

सरकारले खर्च गर्न नपाउने प्रावधान लागु हुन केही घण्टा मात्रै बाँकी रहँदा संसद्ले उक्त विधेयक पारित गरेको थियो।

राष्ट्रपति बाइडनले समयसीमा भन्दा एक घण्टा अगाडी मात्रै त्यसमा हस्ताक्षर गरेका थिए।

त्यस्तो हुन नसकेको भए सङ्घीय सरकार अन्तर्गतका सङ्ग्रहालय, राष्ट्रिय निकुञ्ज अनि सुरक्षा सम्बन्धी कार्यक्रमहरू बन्द रहन बाध्य हुन्थे।

रिपब्लिकन र डेमोक्र्याटहरूबीच सहमति जुटेसँगै तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटमा मतदान भएको थियो।

संसद्को पछिल्लो कदमले डिसेम्बर महिनाको तीन तारिखसम्म सरकारले खर्च गर्न पाउने सुनिश्चित गरेको छ।

त्यस्तै हालसालै चरम मौसमी प्रभाव देखा परेका अमेरिकी राज्यहरू र अफगान शरणार्थीहरूको बसोबासको प्रबन्ध मिलाउनका लागि पनि सरकारले खर्च गर्न पाउने भएको छ।

जो बाइडन

तस्बिर स्रोत, Reuters

खर्च अनुमोदन भएसँगै शुक्रवार सङ्घीय निकायहरू बन्द रहने छैनन् जसले गर्दा लाखौँ सरकारी कर्मचारीहरूले बेतलबी बिदा लिनुपर्ने छैन।

बिहीवार सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ मत परेको थियो भने विपक्षमा ३५ मत खसेको थियो।

१५ जना रिपब्लिकनहरूले विधेयकको पक्षमा मतदान गरेका थिए।

तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्समा भने पक्षमा २५४ र विपक्षमा १७५ मत खसेको थियो।