रुस निर्वाचन: धाँधलीका आरोपबीच संसदीय चुनावमा पुटिनको पार्टीको अग्रता

रुस

तस्बिर स्रोत, Reuters

Published

राष्ट्रपति भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीले रुसको संसदीय निर्वाचनमा बहुमत ल्याउने देखिएको छ।

धाँधलीको आरोपबिच भएको मतदानमा भोट हालेकाहरूसँग गरिएको एउटा एक्जिट पोलमा सत्ताधारी पार्टीको जित सुनिश्चित देखिएको हो।

क्रेम्लिनका प्रखर आलोचकहरूलाई चुनावमा उठ्न रोक लगाइएको थियो र निर्वाचनका बेला नक्कली र जबरजस्ती मतदान भएका विवरणहरू सार्वजनिक भएका छन्।

रुसको निर्वाचन आयोगले भने त्यस्ता दाबीहरूलाई अस्वीकार गरेको छ।

चुनावमा सहभागी हुन नपाएकामा हाल जेलमा रहेका विपक्षी नेता एलेक्सी नभाल्नीका समर्थकहरू समेत छन्।

प्रक्षेपण

३३ प्रतिसत मतगणना भएपछिको प्रारम्भिक नतिजामा युनाइटेड रसियाले ४५ प्रतिसतभन्दा बढ्ता मत पाएको देखिन्छ।

इन्सोमार कम्पनीले सञ्चालन गरेर र रिआ समाचार संस्थाले प्रकाशन गरेको अनुमानित मत सर्वेक्षण- एक्जिट पोलले उक्त दलले ४५ प्रतिसतभन्दा केही बढ्ता मत पाउने प्रक्षेपण गरेको छ।

रुस

तस्बिर स्रोत, EPA

आइतवार साँझ मतदान सकिएको केही घण्टामै युनाइटेड रसियाले आफ्नो जित घोषणा गरेको छ।

सरकारी टेलिभिजनमा प्रशारित सामग्रीमा युनाइटेड रसिया पार्टीका एक वरिष्ठ अधिकारीले मस्कोमा समर्थकहरूको भिडलाई बधाई दिंदै 'स्पष्ट र निष्पक्ष' जीत भएको बताएका थिए।

चुनाव

मतदाताहरूले डुमा भनिने रूसी संसद्मा ४५० सांसद्हरू निर्वाचित गर्दैछन्।

कुल १४ वटा दल सहभागी भएको उक्त चुनावमा कयौँ शहरमा विद्युतिय मतदान सुरु गरिएको थियो।

रुसको केन्द्रीय निर्वाचन आयोगले केही छिटफुट घटना भए तापनि ठूलो अनियमितता नभएको जनाएको छ।

प्रारम्भिक नतिजाहरूले उक्त दलले संसदिय बहुमत कायमै राख्ने तर विपक्षीसँग आफ्ना केही आधारक्षेत्र गुमाउने देखाएको छ।

तीन दिने मतदान

कोरोनाभाइरस महामारीलाई औपचारिक कारण बताउँदै मतदानलाई तिनदिने बनाइएको थियो।

रुस

तस्बिर स्रोत, Reuters

तर आलोचकहरूले लम्ब्याइएको त्यस्तो समयले पारदर्शीताको कमी देखाएको र दुरूपयोग गर्न खुला छाडेको देखाएको बताएका छन्।

सन् १९९३ पछि पहिलोपटक अर्गनाइजेसन फर सेक्युरिटी एण्ड कोओपरेसन इन युरोप (ओएससीई)का पर्यवेक्षकहरू चुनावमा सहभागी भएनन्।

उनीहरूले त्यसो गर्नुमा रुसी अधिकारीहरूले लगाएका प्रतिबन्धात्मक सीमाहरूलाई कारण बताएका छन्।