एसईईको परीक्षाफल प्रकाशित

परीक्षा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, परीक्षाको फाइल तस्बिर
Published

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तहको परीक्षा एसईईको परीक्षाफल शनिवार प्रकाशित गरेको छ।

विद्यालयहरूले आन्तरिक मूल्याङ्कन गरी जिल्ला शिक्षा विकास तथा समन्वय एकाइमार्फत्‌ पठाएका कक्षा १० का झन्डै पाँच लाख विद्यार्थीको परीक्षाफल शनिवार सार्वजनिक गरिएको बोर्डले जनाएको छ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले परीक्षाफल प्रमाणीकरण गरिएको बीबीसी न्यूज नेपालीलाई जानकारी दिए।

उनका अनुसार देशभरिका ४ लाख ८४ हजार २७८ जना विद्यार्थीको परीक्षाफल बोर्डले प्रमाणीकरण गरेको छ।

लगातार दोस्रो वर्ष

सदस्यसचिव अर्यालले भने, "विद्यालयहरूले आन्तरिक मूल्याङ्कन गरेर जिल्लास्थित शिक्षा समन्वय एकाइलाई विद्यार्थीले प्राप्त गरेका अङ्क पठाएका थिए।"

"जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले त्यसलाई थप रुजु गर्दै केन्द्रमा विवरण बुझाएको थियो। त्यसैका आधारमा हामीले परीक्षाफललाई हामीले प्रमाणीकरण गरेका हौँ।"

उनले मन्त्रिपरिषद्ले अख्तियारी दिएअनुसार आफूहरूले परीक्षाफल सार्वजनिक गरिदिएको बताए।

कोरोनाभाइरस महामारीका कारण यस पटक लगातार दोस्रो वर्ष विद्यार्थीको भौतिक उपस्थितिमा एसईईको परीक्षा सञ्चालन गर्न सकिएको थिएन।

त्यस कारण सरकारले कार्यविधि ल्याई विद्यालयहरूले गर्ने आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षाफल निकाल्न परीक्षा बोर्डलाई भनेको थियो।