इजरेली ट्याङ्करमा भएको हमलामा इरानको हात रहेको यूके र अमेरिकाको विश्वास

इजरेलको स्वामित्त्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक उक्त ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भएको थियो।

तस्बिर स्रोत, Johan Victor via Reuters

तस्बिरको क्याप्शन, इजरेलको स्वामित्त्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक उक्त ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भएको थियो।
Published

यूके र अमेरिकाले ओमानी तटमा रहेको इजरेलद्वारा सञ्चालित एउटा तेल ट्याङ्करमा दुई जनाको ज्यान जानेगरी भएको हमलामा इरानको हात रहेको आफूहरूलाई विश्वास लागेको बताएका छन्।

उनीहरूले घटना अन्तर्राष्ट्रिय कानुन विपरीत भएको भन्दै त्यसको जवाफ दिइने बताए।

इरानले घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

इजरेलको स्वामित्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक उक्त ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भएको थियो।

त्यस क्रममा एक जना ब्रिटिश र एक जना रुमेनियाली नागरिक मारिएका थिए।

इजरेलको आक्रोश

इजरेली प्रधानमन्त्री नाफ्ताली बेनेटले उक्त घटनामा आफ्नो चिरकालीन शत्रु इरानको हात रहेको "प्रमाण" रहेको बताएपछि अमेरिका र यूकेको यस्तो वक्तव्य आएको हो।

बेनेटले चेतावनी दिँदै "हामीलाई थाहा छ, इरानलाई कसरी हाम्रै हिसाबले सन्देश पठाउनुपर्छ" भनेका छन्।

तेहरानले चाहिँ "आधारहीन आरोप" भन्दै उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

उक्त ट्याङ्करमा भएको हमला इजरेल र इरान बीचको अघोषित छद्म युद्धमा तनाव बढाउने पछिल्लो घटनाका रूपमा देखापरेको छ।

गत मार्चदेखि इजरेल र इरानद्वारा सञ्चालित कैयौँ पानी जहाजहरूमा आक्रमण भएका छन्।

इजरेली प्रधानमन्त्री नाफ्ताली बेनेटले उक्त घटनामा आफ्नो चिरकालीन शत्रु इरानको हात रहेको "प्रमाण" रहेको बताएपछि अमेरिका र यूकेको यस्तो वक्तव्य आएको हो।

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, इजरेली प्रधानमन्त्री नाफ्ताली बेनेटले उक्त घटनामा आफ्नो चिरकालीन शत्रु इरानको हात रहेको "प्रमाण" रहेको बताएपछि अमेरिका र यूकेको यस्तो वक्तव्य आएको हो

ती घटनाहरूलाई एक अर्काले 'जस्ताको त्यस्तै जवाफ' दिने उद्देश्यले गरेको जस्तो देखिन्छ।

त्यस्ता घटनामा मानिसहरूको ज्यान भने कमै गएको देखिएको छ।

इरानले पनि इजरेलले आफ्नो परमाणु केन्द्र र आफ्ना वैज्ञानिकलाई निसाना बनाएको आरोप लगाउँदै आएको छ।

यूके र अमेरिकाले के भने?

एउटा वक्तव्यमा यूकेका विदेशमन्त्री डोमिनिक राबले इरानले उक्त ट्याङ्करमा आक्रमण गर्न एउटा वा त्यसभन्दा बढी ड्रोनको प्रयोग गरेको हुनसक्ने लन्डनको विश्वास रहेको बताएका छन्।

उनले त्यसलाई "नियोजित, निसानामा पारेर गरिएको र एउटा स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन" भनेका छन्।

"इरानले त्यस्ता आक्रमण अन्त्य गर्नै पर्छ र पानी जहाजहरूलाई स्वतन्त्र रूपमा आवतजावत गर्न दिनुपर्छ," उनले भने।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले वासिङ्टन पनि इरानले उक्त घटना गराएकोमा विश्वस्त रहेको बताएका छन्।

उनले त्यसको "उचित जवाफ दिइने" बताएका छन्।

इरानले भने सबै आरोपहरूलाई अस्वीकार गरेको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ताले इजरेलले असुरक्षा, आतङ्क र हिंसा सिर्जना गरेको बताए।

उनले भने, "इजरेलले यस्ता आधारहीन आरोपहरूलाई रोक्नै पर्छ।"