तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपाल: थप ३,६११ जनामा कोरोना भाइरस सङ्क्रमण, २७ जनाको मृत्यु
नेपालमा थप ३,६११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको र २७ जनाको कोभिड-१९ का कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
शुक्रवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १४,६६१ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
तीमध्ये ४,८७८ जनाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो।
मृतकको तथ्याङ्कमा नेपाली सेनाले विभिन्न मितिमा अन्तिम संस्कार गरिदिएका शवको सङ्ख्या समाविष्ट भएको मन्त्रालयले जनाएको छ।
यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या सात लाख ५३ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९,८३४ पुगेको छ।
काठमाण्डू उपत्यकामा मात्र सक्रिय सङ्क्रमित ८,५०० नाघेका छन्।
अहिले कुल परीक्षणको २४.६३ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रायलको तथ्याङ्कले देखाउँछ। विज्ञहरूले यसलाई उच्च दर मानेका छन्।
मन्त्रालयका अनुसार विगत २४ घण्टाको अवधिमा १,८१६ जना सङ्क्रमणमुक्त भएका छन्।
नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार अहिले कुल ३१ हजार जनाभन्दा केही बढीमा सक्रिय सङ्क्रमण छ।
तीमध्ये २७,८२० जना घरमा तथा ३,१९४ जना संस्थागत आइसोलेशनमा छन्।
सङ्क्रमितमध्ये अहिले ६८६ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १६१ जना भेन्टिलेटरमा छन्।
अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ५५६ जना काठमाण्डूमा, ३३३ जना कास्कीमा, २३६ जना झापामा फेला परेका हुन्।
सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाण्डू उपत्यकाका धेरै हुने क्रम अहिले पनि जारी छ।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर
कतिले लगाए खोप?
स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या १६ लाख २१ हजार नाघेको छ।
अहिलेसम्म नेपालमा कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप मात्र नेपाल आएका छन्।
जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने कोभिशील्डको र भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।
कोभिशील्डको पहिलो मात्रा लगाएका झन्डै १३,६७,००० जनाले दोस्रो मात्रा लगाउन पाएका छैनन्।
भारतको अवस्था के छ?
भारतमा २४ घण्टाको अवधिमा झन्डै ४४,२३० नयाँ सङ्क्रमित थपिएका छन् भने ५५५ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको बिहान प्रकाशित तथ्याङ्कमा उल्लिखित छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म तीन करोड १५ लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ।
अहिलेसम्म चार लाख २३ हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।
यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख ५,००० भन्दा धेरै छ।
भारतमा हालसम्म ४५ करोड ६० लाख जनाभन्दा धेरैले कोभिड खोप लगाएका छन्।
शुक्रवार बिहानसम्म २४ घण्टाको अवधिमा त्यहाँ झन्डै ५२ लाखले कोभिड खोप लगाएका थिए।
कोभिड भएर अस्पताल जानुपर्ने भए के गर्ने?
कोभिड-१९ भएका बिरामीले अस्पताल जानुपर्ने भए वा शय्या आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयले सुझाव दिएको छ -
- ११३३
- ९८५१२५५८३९
- ९८५१२५५८३७
एम्बुलेन्स सेवाको लागि -
- १०२
यी नम्बरहरू चौबीसै घण्टा खुल्ला रहने बताइएको छ।