तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिकाले 'व्याकुल' भएर सम्झौता गरेको हो : इरानी सर्वोच्च नेता
- Author, विकी वोङ
- Role, बीबीसी न्यूज नेपाली
- Published
- पढ्ने समय: ३ मिनेट
मध्यपूर्वको युद्ध अन्त्यका लागि सम्झौतामा हस्ताक्षर गरेपछि अमेरिकाले इरानमाथि लगाएको सामुद्रिक नाकाबन्दी अन्त्य गरेको छ।
अमेरिकी सेन्ट्रल कम्यान्ड 'सेन्टकम'ले राष्ट्रपति डोनल्ड ट्रम्पको आदेशपछि नाकाबन्दी हटाइएको पुष्टि गरेको छ। उसले 'एक्स'मा गरेको पोस्टमा त्यस क्षेत्रका सामान्य क्षेत्रमा केही अमेरिकी पानीजहाजहरू भने अझै तैनाथ रहने जनाएको छ।
त्यसलगत्तै इरानका सर्वोच्च नेता मूज्तबा खामेनेईले "भिन्न मत" रहेको भए पनि अमेरिकासँग सम्झौता गर्न आफूले अनुमति दिएको बताएका छन्। तर के विषयमा मतभिन्नता थियो भन्नेबारे उनले थप खुलाएका छैनन्।
सम्झौताले "इरानी राष्ट्रको अधिकारको रक्षा गर्ने" राष्ट्रपति मसूद पेजेस्किआनको सुनिश्चिततापछि आफूले सम्झौता अघि बढाउन अनुमति दिएको उनले बताएका छन्।
खामेनेईले अमेरिकी राष्ट्रपति ट्रम्प सम्झौताका लागि "व्याकुल" बनेको र उनले "सबै प्रकारका दबाव" प्रयोग गरेको दाबी गरेका छन्।
पहिलो सार्वजनिक प्रतिक्रिया
बिहीवारको सम्झौतापछि पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै उनले शान्ति सम्झौतालाई स्थायी रूप दिने क्रममा अमेरिकाले अत्यधिक माग अघि सार्यो भने त्यसमा इरान सहमत नहुने बताए।
भविष्यमा अमेरिकासँग प्रत्यक्ष वार्ता भए पनि त्यसले "कुनै पनि शत्रुपक्षको अडान स्वीकार गरेको बुझ्न नहुने" उनको भनाइ छ।
अमेरिका र इजरेलले गरेको आक्रमणमा फेब्रुअरी २८ मा आफ्ना पिता आयतूल्लाह अलि खामेनेई मारिएपछि मार्चमा सर्वोच्च नेता बनेका मूज्तबा अहिलेसम्म सार्वजनिक रूपमा देखा परेका छैनन्। आफ्नो आफ्नो लिखित विज्ञप्ति सार्वजनिक गर्दै सम्झौताबारे प्रतिक्रिया जनाएका हुन्।
इरानसँग सम्झौतामा उल्लेख भएका विषयमा अमेरिकामै रिपब्लिकन सांसदसहित कतिपयले आलोचना गरिरहेका छन्।
आगामी वार्तामा 'अमेरिकाको हात माथि पर्ने'
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौताबाट इरानले"धेरै छुट" पाएको भन्ने आरोपको खण्डन गर्दै आगामी वार्ताहरूमा अमेरिकाको हात माथि पर्ने बताएका थिए।
भान्सले होर्मुज जलमार्गबाट एक करोड १२ लाख ब्यारल तेल पार भइसकेको बताएका छन्।
अमेरिकी राष्ट्रपति ट्रम्पले खामेनेईको टिप्पणीबारे सीधा प्रतिक्रिया दिएका छैनन्।
'ट्रूथ सोशल'मा उनले लेबननमा इजरेल र इरानबाट समर्थनप्राप्त हिज्बुल्लाहबीच समेत "सबै मोर्चामा" युद्धविराम लागु हुने अपेक्षा व्यक्त गरेका छन्। उनले आफूहरूको वार्ता अघि बढाउने कुरामा मध्यपूर्वका देशहरूको समेत प्रतिबद्धतामा रहने विश्वास व्यक्त गरेका छन्।
अमेरिका र इरानबीचको शान्ति सम्झौतामा मुख्य १४ वटा बुँदा छन्।
तिनमा होर्मुज जलमार्ग पुनः खोल्ने, इरानले कहिल्यै पारमाणविक अस्त्र नबनाउने सर्त र इरानको "पुनर्निर्माण तथा आर्थिक विकास" का लागि ३०० अर्ब अमेरिकी डलरको कोष स्थापना गर्ने प्रतिबद्धतासहितका विषय छन्। उक्त कोषमा अमेरिकी योगदान अनिवार्य गरिएको छैन।
यसले दुवै पक्षलाई ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्न समयसीमा तोकेको छ।
यसअघि शुक्रवार स्विट्जरल्यान्डमा सम्झौतामा औपचारिक हस्ताक्षर हुने भनिए पनि वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानले यसअघि नै हस्ताक्षर भइसकेका कारण औपचारिक कार्यक्रम रद्द गरिएको बताएको छ।
यद्यपि अमेरिकी र इरानी अधिकारीहरूबीच थप वार्ताका लागि स्विट्जरल्यान्डमा भेट हुने बताइएको छ। अमेरिकी उपराष्ट्रपति भान्सले भने थप वार्ताको मिति तय नभएको बताएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।