बाराबङ्की दुर्घटनाः भारतको उत्तर प्रदेशमा यात्रुवाहक बसमा ट्रक जोतिँदा १८ जनाको मृत्यु

प्रहरीका अनुसार दुर्घटनापछि उद्धारकार्य थालिएको थियो

तस्बिर स्रोत, Barabanki Police

तस्बिरको क्याप्शन, प्रहरीका अनुसार दुर्घटना भएको सूचना पाएपछि तत्कालै उद्धारकार्य थालिएको थियो
Published

भारतको उत्तर प्रदेशमा एउटा यात्रुवाहक बसमा ट्रक जोतिँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

हरियाणा राज्यमा काम गर्न गएका र अहिले बिहार राज्यस्थित घर फर्किएका कामदारहरू उक्त दुर्घटनामा परेको बताइएको छ।

सयौँ किलोमिटर टाढाबाट आएको उनीहरूको बस उत्तर प्रदेशको बाराबङ्की जिल्लामा बिग्रिएपछि रोकेर राखिएको थियो।

बुधवार बिहान सबेरै ट्रक आएर जोतिँदा यात्रुमध्ये केही बसमै थिए भने केही नजिकै बाहिर सडकमा सुतिरहेका थिए।

प्रहरीले बीबीसीलाई बताएअनुसार उक्त बसमा क्षमताभन्दा बढी यात्रु चढेका थिए।

कसरी भयो दुर्घटना?

बस बिग्रिएपछि केही यात्रुहरू सडकमा सुत्न गएका थिए भने चालक बस बनाउने मिस्त्री खोज्न गएको बाराबङ्की प्रहरीका अधिकारी यमुना प्रसादले बताए।

"यो दुःखद घटना हो। पैँसट्ठी जना बोक्ने क्षमता भए पनि झन्डै १४० यात्रु चढेकाले बस बिग्रिएको हुनसक्छ," उनले भने।

बाराबङ्की दुर्घटना

तस्बिर स्रोत, Uttar Pradesh police

बाराबङ्कीमा दुर्घटना

तस्बिर स्रोत, Lucknow Police

प्रसादका अनुसार उक्त बसमा एअर-कन्डिशनर भएकाले झ्याल थिएन। त्यसैले गाडी बिग्रिएपछि केही यात्रुहरू बाहिर सडकमा गएर सुतेको अनुमान गरिएको छ।

बाराबङ्कीस्थित अस्पतालहरूमा कम्तीमा ३० जनालाई भर्ना गरिएको छ। तीमध्ये केही गम्भीर घाइते छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दै मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ तथा घाइतेलाई ५०,००० भारतीय रुपैयाँ दिने घोषणा गरेका छन्।

बिहारबाट मानिसहरू हरियाणा र दिल्लीमा काम गर्न जान्छन्।

त्यसरी काम गर्न जाने मानिसहरू भाडा सस्तो पर्ने हुँदा आफ्नो गन्तव्य जाँदा वा घर फर्किँदा प्रायः रेल र बस चढ्छन्।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, जब मुम्बईमा पुरानो इनारभित्र कार खस्यो