भारत पहिरोः हिमाचल प्रदेशमा पर्यटक गाडीमा पहिरो बजारिँदा नौ जनाको मृत्यु

हिमाचल प्रदेश पहिरो

तस्बिर स्रोत, Pankaj Sharma

Published

उत्तर भारतको हिमाचल प्रदेशमा पर्यटकहरू सवार एउटा सवारीसाधनमा पहिरो खस्दा नौ जनाको मृत्यु भएको छ।

आइतवार भएको उक्त घटनामा अन्य तीनजना घाइते भएका छन्।

घटनास्थलमा खिचिएको तथा सामाजिक सञ्जालमा प्रेषित भिडिओमा एउटा पहाडबाट पहिरो खसेको र ठूलाठूला ढुङ्गा एउटा पुलमा बजारिएको देखिन्छ।

बटसेरी-साङ्गला मार्गमा अचानक पहाडमा विस्फोट भएको जस्तो सुनिएको अनि धूलो उडेको देखिएको बीबीसी हिन्दीले जनाएको छ। त्यसपछि तीव्र गतिमा ढुङ्गाहरू तल खस्न थालेका थिए।

किन्नौर जिल्लामा पहिरो गएपछि उद्धारका लागि सुरक्षाकर्मीहरू परिचालित भएका थिए

तस्बिर स्रोत, Indo-Tibetan Border Police (ITBP)

हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले उक्त घटनालाई "हृदयविदारक" भनेका छन्।

रोकेर राखिएका सवारीसाधनमा ठूला ढुङ्गाहरू बजारिएको अनि त्यसपछि पुल भत्किएको दृश्य ट्विटरमा प्रेषित भिडिओमा देखिन्छ। उक्त घटना किन्नौर जिल्लामा भएको हो।

देशका प्रधानमन्त्री नरेन्द्र मोदीले शोक प्रकट गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

उनले पीडितका परिवारलाई सरकारी कोषबाट राहत उपलब्ध गराइने बताए।

मुख्यमन्त्री ठाकुरका अनुसार पीडित पक्षलाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कार्य भइरहेको छ।

भिरालो डाँडाबाट ठूलाठूला चट्टान खसेका थिए

तस्बिर स्रोत, Pankaj Sharma

तस्बिरको क्याप्शन, भिरालो डाँडाबाट ठूलाठूला ढुङ्गाहरू खसेका थिए

दिल्लीबाट हिमाचलको प्रसिद्ध चितकुल गाउँ घुम्न जान गएका मानिसहरू उक्त गाडीमा भएको हिन्दुस्तान टाइम्स पत्रिकाले जनाएको छ।

के कारण पहिरो गयो भन्ने स्पष्ट नभए पनि ठूलो वर्षाको पूर्वानुमान गरिँदा पहिरोबारे चेतावनी जारी गरिएको थियो।

उक्त घटना भएको बेला पानी भने परेको थिएन।

पहिरोले बिगारेको पुल

तस्बिर स्रोत, Pankaj Sharma

अहिले मनसुन सक्रिय भएको बेला भारतका विभिन्न स्थानमा बाढी र पहिरोले दुःख दिएको छ।

पश्चिम भारतको महाराष्ट्रमा वर्षाका कारण सयौँ गाउँहरू प्रभावित भएका छन्।

अहिलेसम्म त्यहाँ कम्तीमा १३६ जनाको मृत्यु भइसकेको तथ्याङ्क प्रकाशित भएको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, जब मुम्बईमा पुरानो इनारभित्र कार खस्यो