भारत मनसुनः मुम्बईमा आवासीय भवन भत्किँदा सात बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु

तस्बिर स्रोत, Reuters
पश्चिम भारतको मुम्बईमा एउटा आवासीय भवन भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
सहरको मालाद क्षेत्रमा अवस्थित उक्त भवन भत्किएर छेउको एउटा छाप्रोलाई पुरेको बताइएको छ।
मृतकमध्ये सात बालबालिका र एक किशोर भएको बीबीसी मराठीले जनाएको छ।
भग्नावशेषमा केही मानिस अझै जीवित भेटिन सक्ने अपेक्षासहित उद्धारकार्य चलिरहेको अधिकारिहरूले बताएका छन्।
मुम्बई महानगरपालिकाका अनुसार घटनामा १७ जना घाइते भएका छन्।
बीबीसी मराठीका अनुसार उक्त भवनका मालिक र कन्ट्र्याक्टरविरुद्ध कानुनी कारबाही सुरु भएको छ।
कसरी भयो घटना?
बुधवार राति भवन भत्किएको घटनाबारे छानबिन गर्न अधिकारीहरूले निर्देशन दिएका छन्।
महाराष्ट्र राज्यका एक मन्त्रीले ठूलो वर्षाका कारण उक्त दुर्घटना भएको बताएका छन्।
भारतमा मनसुनका बेला भवन भत्किने घटना असामान्य हैन।

तस्बिर स्रोत, ANI
ठूलो वर्षा हुन सक्ने सम्भावना भएकाले जीर्ण भवनबाट मानिसहरूलाई अन्यत्र सारिएको अधिकारीहरूले बताएका छन्।
वर्षाका कारण विभिन्न क्षेत्रमा पानी जम्न थालेकाले मुम्बईमा उच्च सतर्कता अपनाइएको बताइएको छ।
के भन्छन् अधिकारी?
प्रहरीका अनुसार भवनको भग्नावशेषबाट १८ जनालाई बाहिर निकालिएकोमा केवल सात जना बाँचे।
"प्रहरीले राम्ररी अनुसन्धान गरेर थप कारबाही गर्नेछ," वरिष्ठ प्रहरी अधिकारी दिलीप सावन्तले स्थानीय सञ्चारमाध्यमलाई भने।
प्रत्यक्षदर्शीहरूका अनुसार तीनतले भवन भत्किएर सँगै जोडिएका अन्य साना संरचनामाथि खसेको थियो। उक्त भवनको दोस्रो र तेस्रो तला भत्किएर खसेको महानगरपालिकाको आधिकारिक ट्विटरमा उल्लेख छ।
"यो घटना राति १०:१५ बजेतिर भएको थियो। अरू दुई जना मानिस आएर घरबाहिर निस्किन भनेपछि म बाहिर गएँ। बाहिर जाँदै गर्दा मैले हाम्रो भवननजिकै एउटा डेरीसहित तीनवटा भवन भत्किएको देखेँ," एक स्थानीय बासिन्दाले मुम्बई मिरर पत्रिकालाई बताए।

तस्बिर स्रोत, EPA
महाराष्ट्रका मुख्यमन्त्री असलम शेखका अनुसार भग्नावशेषमा जीवित व्यक्तिको खोजी गर्ने काम जारी रहनेछ।
"वर्षाका कारण भवनहरू भत्किए। उद्धारकार्य जारी छ। घाइतेलाई अस्पताल पठाइएको छ। भवनका भग्नावशेष पन्छाएर भित्र अरू जीवित मान्छे छन् कि भनेर हेर्न लागिएको छ," उनले भने।
मुम्बईका अरू स्थानमा पर्खालहरू भत्किएका विवरणहरू आएका छन्।
तर कोही हताहत भएको जानकारी प्राप्त भएको छैन।

तस्बिर स्रोत, EPA
मौसमविद्हरूका अनुसार मुम्बईमा केही दिनसम्म ठूलो वर्षा हुने छ।
होचो स्थानमा भएका क्षेत्रहरूमा बाढीको जोखिम भएको उनीहरूले बताएका छन्।

तस्बिर स्रोत, EPA




















