पूर्वी चीनमा एउटा होटल भत्किँदा कम्तीमा १७ जनाको मृत्यु, पाँच घाइते

भग्नावशेष

तस्बिर स्रोत, Getty Images

Published

चीनको पूर्वी सहर सुजूमा एउटा होटल भत्किँदा कम्तीमा १७ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

उक्त दुर्घटना भएको ३६ घण्टासम्म खोजतलास गर्दा उद्धारकर्मीहरूले भग्नावशेषमा पुरिएर रहेका २३ जनालाई फेला पारेका थिए। तीमध्ये छ जना जीवितै छन्।

चीनको ग्लोबल टाइम्स पत्रिकाका अनुसार उक्त भवनका मालिकले भवनको संरचनामा नै फेरबदल गर्ने प्रयास गरेकाले उक्त दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।

हालैका वर्षहरूमा उक्त भवनमा पटकपटक मर्मतका कामहरू भएको बुझिएको छ।

भग्नावशेष

तस्बिर स्रोत, Reuters

रेडस्टार न्यूजसँग कुरा गर्दै उक्त भवनमा बसोबास गर्दै आएका एक व्यक्तिले भने, "यो भवन सुरुमा तीनतलै मात्रै थियो तर तिनीहरूले विस्तारै यसमा तला थप्दै गए।"

जियाङ्गशु प्रान्तीय सरकारले उक्त दुर्घटनाबारे एक टोलीले छानबिन गरिरहेको र घटनासँग "सम्बन्धित व्यक्तिहरूले" फौजदारी अभियोगको सामना गर्नुपर्ने बताएको छ।

सोमवार स्थानीय समयानुसार दिउँसो ३:३० बजेतिर उक्त सिजी काइयुआन होटल भत्किएको थियो। त्यसपछि उद्धारकार्यमा ६०० जनाभन्दा बढी उद्धारकर्मी खटिएका थिए।

अनुमान

भवन भत्किँदा उक्त ५४ कोठे होटेलमा १८ जना मात्र पुरिएको अनुमान गरिएको थियो।

भग्नावशेष

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, भग्नावशेषबाट २३ जना जतिलाई फेला पारिएको बताइएको छ

पछि त्यहाँ दर्ता नभएका अन्य पाँच जना पनि रहेका पत्ता लागेको थियो।

जीवित फेला परेका छ जनामध्ये पाँच जना घाइते रहेका र एक जनालाई कुनै चोटपटक नलागेको बताइएको छ।

विगतमा चीनमा भवन भत्किएर हुने दुर्घटनाका लागि खराब निर्माणकार्यलाई दोष दिने गरिएको छ।

गत वर्ष फुजिआन प्रान्तमा एउटा होटेल भत्किँदा २९ जनाको ज्यान गएको थियो।

सिन्ह्वाको एक रिपोर्टअनुसार त्यसबेला उक्त घटनाको अनुसन्धान गरेका अधिकारीहरूले सो होटेलको निर्माणकार्यमा "गम्भीर समस्याहरू" रहेको फेला परेको थियो।