टिभीमा विपद्को दृश्य देखेपछि कैदी-बन्दीले पठाए राहत सहयोग

- Author, उमाकान्त खनाल
- Role, झापा
- Published
केही न केही अभियोग लागेर वा अदालतबाट सजाय पाएरै कैदी-बन्दी कारागार पुगेका हुन्छन्।
कसैका घर/परिवारले पठाए उनीहरूसँग अलि-अलि अतिरिक्त पैसा हुन्छ। नत्र सरकारले दैनिक जीवनयापनका लागि दिने बाहेकको पैसा नै हुँदैन।
झापा कारागारका कैदी-बन्दीको अवस्था पनि त्योभन्दा भिन्न छैन।
तर उनीहरूले विपद्मा परेको ठाउँका निम्ति खाना खर्च कटाएर राहत रकम पठाएका छन्।
पछिल्लो समय सिन्धुपाल्चोकका बाढी/पहिरो पीडितका लागि उनीहरूले आर्थिक सहायता पठाएका हुन्।
टिभीमा सिन्धुपाल्चोक देखेपछि…
सिन्धुपाल्चोकको हेलम्बु तथा मेलम्ची क्षेत्रमा बाढी/पहिरोले गरेको विनाशको दृश्य टेलिभिजनमा बाढीकै रूपमा देखाइयो।
उनीहरूका अनुसार त्यसले नै हो कैदी-बन्दीको मन पगालेको। धेरै आर्थिक सहायता पठाउन सक्ने हैसियत त थिएन, तर लाग्यो- जति सकिन्छ, पठाउन चाहिँ पठाउनै पर्छ।
उनीहरूले एक छाक खाना कटौती गरेर हेलम्बु गाउँपालिकाको खातामा ५०,१०० रुपैयाँ जम्मा गरिदिएको कारागारका आन्तरिक प्रशासन प्रमुख शेरबहादुर थेबेले जानकारी दिए।
उनले भने, “हामीले पहिला नौ वटा वार्डमा साथीहरूसँग सल्लाह गर्यौँ। अनि जसले जति सक्छ, त्यति पैसा उठायौँ। एक छाक खानाको पैसा सिन्धुपाल्चोक पठाएका हौँ।”
विगत केही वर्षदेखि झापा कारागारमा रहेका कैदी-बन्दीहरू विपद्का बेला आर्थिक सहायता गर्न अग्रसर हुन थालेको एक जना कैदीले बताए।
असहाय बिरामीलाई पनि सहयोग
उनले भने, “हामीले आर्थिक अवस्था कमजोर भएर उपचार नपाएकाहरूका लागि पनि सके जति पैसा उठाएर पठाएका छौँ।”
कैदी-बन्दीद्वारा गठित बन्दी विकास पुस्तकालयका एक सदस्यका अनुसार करिब दुई वर्ष अघि क्यान्सर रोग लागेकी पाँचथरकी महिलाको उपचार सहयोगका लागि उनीहरूले ८०,००० रुपियाँ सहयोग पठाएका थिए।
त्यसै झापा गौरीगञ्जका एक बालकको उपचारका लागि पनि ७०,००० रुपैयाँ पठाएको ती कैदीले सुनाए।
झापाको कचनकवल गाउँपालिकामा २०७३ सालमा आएको बाढीका पीडितलाई चामल र चाउचाउ सहित खाद्य सामग्री पठाएका थिए।
कारागार प्रमुख राजेन्द्र गौतमका अनुसार झापा कारागारका कैदी-बन्दी पछिल्लो पटक प्राकृतिक विपद्मा मानवीय सहयोग गर्दै आएका छन्।
सकारात्मक सन्देश
अधिकांश गैर कानुनी कामलाई क्रूर र अमानवीय अपराध मानिन्छ। र, त्यस्तै अभियोग लागेर जेल पुगेकाहरूबाट धेरैले सकारात्मक कर्मको अपेक्षा नै गर्दैनन्।
तर कष्टकर जेल जीवन बताइरहेका झापाका कैदी-वन्दीले देखाएको सहयोगी भावनाले सकारात्मक प्रतिक्रिया पाएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना भन्छन्, “मानवीय सेवा-सहायतामा कसैले कसैको मुख ताक्न नहुने सन्देश दिएको छ।”
झापा कारागारमा ७६ महिलासहित १,२०० भन्दा धेरै कैदी बन्दी छन्।
























