चीनद्वारा नेटोको प्रतिवाद, आफूलाई 'चुनौती' भनेर अतिरञ्जना गरेको आरोप

बेइजिङलाई जोखिमका रूपमा देखाए पनि नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध नचाहेको जनाएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बेइजिङलाई जोखिमका रूपमा देखाए पनि नेटो गठबन्धनले चीनसँग नयाँ शीतयुद्ध नचाहेको जनाएको छ
Published

नेटोका नेताहरूले बेइजिङबाट "प्रणालीगत चुनौती" आइरहेको भन्दै चेतावनी दिएपछि चीनले नेटोमाथि आफ्नो शान्तिपूर्ण विकासको अपमान गरेको आरोप लगाएको छ।

नेटोले आणविक अस्त्र विकास गर्नेसहितका चीनका कामले ‘विधिमा आधारित अन्तर्राष्ट्रिय व्यवस्था’ लाई खतरामा पारेको बताएको थियो।

तर चीनले नेटोले आफूबारे अतिरञ्जना गरेको दाबी गरेको छ।

चीनलाई नेटोले आफ्नो छलफलको विषयवस्तुको केन्द्रमा पहिलो पटक राखेको हो।

चीनले जबाफमा के भन्यो?

नेटोको चेतावनीको प्रतिवाद गर्दै चीनले आफ्नो रक्षानीति ‘प्रतिप्रक्षात्मक स्वरूपको’ रहेको भन्दै नेटोलाई आफ्नो शक्ति 'संवाद प्रवर्धनका लागि ' प्रयोग गर्न आग्रह गरेको छ।

युरोपेली सङ्घमा रहेको चिनियाँ नियोगले जारी गरेको विज्ञप्तिमा भनिएको छः प्रतिरक्षा र सैन्य आधुनिकीकरणको हाम्रो जोड औचित्यपूर्ण, तर्कसङ्गत, खुला र पारदर्शी छ।

उसले नेटोले चीनको विकासलाई ‘विवेकसङ्गत ढङ्ग’ले हेर्दै ‘चीनका वैध स्वार्थ र अधिकारलाई आफ्ना गठबन्धन राजनीतिक सञ्चालन गर्नका लागि बहानाका रूपमा प्रयोग गर्न, मुडभेड सिर्जना गर्न र भूराजनीतिक प्रतिस्पर्धा गर्न बन्द गर्न’ भनेको छ।

चीनको सेना विश्वकै सबैभन्दा ठूलो फौज हो जसमा सक्रिय सेवामा २० लाख भन्दा बढी कार्यरत छन्

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, चीनको सेना २० लाखभन्दा बढी सैनिक छन्

नेटोको वक्तव्य सोमवार ब्रसल्समा भएको उसको एकदिने सम्मेलनको अन्त्यमा आएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडन पहिलो पटक उक्त सङ्गठनको बैठकमा सहभागी भएका थिए।

तीस युरोपेली र उत्तर अमेरिकी देशहरूको यस शक्तिशाली राजनीतिक एवं सैन्य गठबन्धनले रुसलाई आफ्नो मुख्य जोखिमका रूपमा हेर्ने गर्छ।

बाइडनले जिनिभामा बुधवार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न लागेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, साउथ चाइना सीः किन विवादित छ यो जलक्षेत्र

नेटोले किन चीनबारे धेरै चासो देखाएको हो

शिखर बैठकपछि जारी गरिएको विज्ञप्तिमा चीनको 'घोषित महत्त्वाकाङ्क्षा र आक्रामक व्यवहारले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था र गठबन्धनको सुरक्षासँग जोडिएका क्षेत्रमा' प्रणालीगत चुनौती दिने उल्लेख गरिएको छ।

त्यसमा नेटो पारदर्शिताको अभाव र गलत सूचनाको प्रयोगप्रति चिन्तित रहेको उल्लेख गरिएको छ।

चीन विश्वको एउटा प्रमुख सैनिक र आर्थिक शक्ति हो र त्यहाँको कम्युनिस्ट पार्टीले राजनीति, दैनिक जीवन र समाजको धेरै हिस्सामा आफ्नो प्रभाव कायम राखेको छ।

चीन

तस्बिर स्रोत, Getty Images

चीनको सेना विश्वकै सबैभन्दा ठूलो फौज हो जसको सक्रिय सेवामा २० लाखभन्दा बढी सैनिक कार्यरत छन्।

चीनको बढ्दो सैनिक सामर्थ्यलाई लिएर नेटोमा चिन्ताहरू गहिरिँदै गएको पाइन्छ।

उसले त्यसलाई सुरक्षा र आफ्ना सदस्य राष्ट्रहरूको लोकतान्त्रिक मूल्यप्रतिको जोखिमका रूपमा हेर्ने गरेको छ।

हालैका वर्षमा अफ्रिकामा सैनिक शिविरहरू बनाउने चिनियाँ गतिविधिलाई लिएर पनि नेटो झस्किएको छ।