कर्णाली: उचाइमा कोरोनाभाइरस सङ्क्रमण, तर भिडभाड उस्तै

कर्णालीमा चामल लिन लाइन बसेका महिलाहरू
तस्बिरको क्याप्शन, कोभिड महामारीबीच कर्णालीमा चामल लिन लाइन बसेका महिलाहरू
    • Author, कृष्णमाया उपाध्याय
    • Role, जुम्ला
  • Published

जनस्वास्थ्यका मापदण्ड पालना गर्नुको सट्टा कर्णालीका गाउँघरमा झन् मानिसहरूको भिडभाडका दृश्यहरू देख्न पाइन्छ।

कोभिड-१९ को जोखिम भए पनि रोगभन्दा भोकले सताउने भन्दै महिलाहरू बिहान ४ बजेदेखि चामल लिन जुम्ला विमानस्थलमा पुग्ने गर्छन्। तर त्यहाँ सामाजिक दूरी राखिएको पाइन्न।

धेरै मानिसको पालो आउन ढिला हुने हो कि भनेर सबै एकै ठाउँमा लाइनमा बस्ने गरेको जुम्लाको चन्दननाथ नगरपालिका १० की सीता गिरी बताउँछिन्।

चामल लिन पुगेकाहरूको त्यो भिडमा गुठी चौर, पातरासी, तातोपानी चन्दननाथ नगरपालिका र सदरमुकाममा डेरामा बस्नेहरू भेटिन्छन्।

कतिपयले त मास्क नै लगाएको देखिन्न। सरकारले छुटमा दिएको खाद्यान्न लिन जानेको भिडभाड सामान्य जस्तै बनेको छ।

खेतबारीदेखि बिहे र कुल पूजासम्म

बिहान ९ बजेपछि जिल्ला प्रशासनले लकडाउन भनेको छ। तर सार्वजनिक स्थानहरूमा देखिने दृश्य हेर्दा ठूलै मेला लागेको जस्तो देखिन्छ।

भिडभाडपूर्ण बिहाबारी चलेकै छ। कुल पूजामा पनि बाक्लै मानिस भेला भएका देखिन्छन्।

धान रोपाइँमा पनि समूह समूह सक्रिय नै छन्।

स्वास्थ्यका आवश्यक मापदण्ड पालना नगरेको हुनाले पछिल्लो केही दिन यता कोभिडका बिरामीहरूको सङ्ख्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराईले बताए।

पूजापाठ पनि रोकिएको छैन
तस्बिरको क्याप्शन, महामारीमा पूजापाठ पनि रोकिएको छैन

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई पनि भिड कहाँ कहाँ र कुन बेला हुन्छ भन्ने थाहा छ।

प्रहरी जनशक्ति कम भएकाले रोपाइँ, कुल पूजा, विवाह, व्रतबन्ध र खाद्यान्न वितरणमा हुने भिड नियन्त्रण र निगरानी चुनौतीपूर्ण बनेको उनको भनाइ छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, दुर्गम ठाउँमा चार घण्टा बोकेरै लगियो कोभिड खोप

स्थानीय जनप्रतिनिधिहरूकै अनुभवमा मानिसहरू सङ्क्रमण भए पनि लुकेरै घरमा बस्छन्, परीक्षण गराउन चाहँदैनन्।

ढङ्ग नपुगेको कस्तो?

स्थानीय तहमा बनाइएका आइसोलेशन केन्द्रहरू खाली हुँदै छन्।

धान रोप्न खेतमा जम्मा भएका महिलाहरू
तस्बिरको क्याप्शन, जुम्लामा धान रोप्न खेतमा जम्मा भएका महिलाहरू

जुम्लाको चन्दननाथ नगरपालिकाकी प्रमुख कान्तिका सेजुवाल भन्छिन्, "होम आइसोलेशनको नाममा सङ्क्रमितहरू स्वास्थ्यका मापदण्ड पालना नगरेर परिवारसँगै बस्नाले सङ्क्रमण नियन्त्रण गर्न अप्ठेरो भएको छ।"

पछिल्लो समयमा बढ्दै गएको कोभिड-१९ को जोखिम नियन्त्रण गर्न कर्णाली प्रदेश सरकारले वडासम्म स्वास्थ्य जनशक्ति परिचालन गर्ने र स्थानीय तहमा सचेतनामूलक कार्यक्रम गर्न आवश्यक बजेट पठाएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले जानकारी दिए।

तर कतिपय आलोचकहरू भन्छन्, कर्णालीमा जोखिम अझै उच्च छ, भिडभाड भने सामान्य अवस्थाको जस्तै छ। न सर्वसाधारण होसियार बनेको देखिन्छ न स्थानीय सरकार वा प्रशासनले ढङ्ग पुर्‍याएको नै पाइन्छ।