कोभिड नेपाल: कर्णालीका ७९ मध्ये ७५ स्थानीय तहमा कोभिड बिरामी

- Author, प्रकाश पन्त
- Role, सुर्खेत
- Published
कर्णाली प्रदेशमा अघिल्लो साल छिटपुट पुष्टि भएको कोरोनाभाइरस यसपालि गाउँगाउँ देखा परेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ७९ मध्ये अहिले ७५ वटा स्थानीय तहमा कोभिड १९ का बिरामी फेला परेका छन्।
पछिल्लो पटक सङ्क्रमितमध्ये आधाभन्दा बढी सङ्क्रमित गाउँका रहेको अधिकारीहरू बताउँछन्।
परीक्षणबिनै भारतबाट नेपाल
खासगरी कालापार (भारत) बाट आएकाहरू सीधै घर पुगेर परिवार, आफन्त र छिमेकीसँग घुलमिल हुँदा सङ्क्रमण फैलिएको ठानिएको छ।
चौध दिनसम्म क्वारन्टीनमा राख्ने नियम अघिल्लो वर्ष पालना गरिएको थियो।
त्यस बेला सङ्क्रमण देखिए आइसोलेशनमा राख्ने र नदेखिए घर पठाउने गरिएको थियो।

दोस्रो लहर देखा परेयता ज्याला मजदुरी गर्न भारत गएका झन्डै १२ हजार नौ सय कर्णालीवासी बिनापरीक्षण गाउँ फर्किएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्द ठकुरीले सुरुमा दैनिक तीन जना भित्रिने गरेकोमा अहिले लकडाउन कार्यान्वयन भएको अवस्थामा पनि डेढ सय जना प्रवेश गरिरहेको बताए।
नाकामा उनीहरूको लगत सङ्कलन गर्ने र ज्वरो मात्रै नाप्ने काम भएको प्रदेश प्रहरी कार्यालयले उल्लेख गरेको छ ।


- के भन्छन् विज्ञ? तपाईँका प्रश्नको उत्तर
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कति चिन्ताजनक? नेपालमा भेटिएको नयाँ भेरिअन्ट के हो
- कसरी फैलिँदैछ? महामारीको दोस्रो लहरमा नेपालमा यसरी बढिरहेको छ कोभिड
- के जान्नै पर्छ? तपाईँका प्रश्नमा विज्ञको उत्तर

क्वारन्टीन नहुँदा गाउँमा सङ्क्रमण
गत वर्ष प्रदेशसहित कर्णालीका सबै स्थानीय सरकारले बाहिरबाट आउने व्यक्तिलाई अनिवार्य क्वारन्टीनमा राख्ने व्यवस्था मिलाएका थिए।
तर यो पटक क्वारन्टीनमा राख्ने व्यवस्था नगर्दा दुर्गम गाउँमा पनि सङ्क्रमण देखा परिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।
यो पटक क्वारन्टीनको व्यवस्था नहुनु र सङ्क्रमितले पनि स्वास्थ्य मापदण्ड पालनामा लापरबाही गर्दा गाउँमा फैलिएको सङ्क्रमण नियन्त्रण गर्न चुनौती थपिएको भेरी नगरपालिका जाजरकोटमा कार्यरत स्वास्थ्यकर्मी निशा थापा बताउँछिन्।
किट अभावले सबै बिरामीको कोभिड परीक्षण गर्न नसकिएको भन्दै उनी परीक्षणको दायरा बढाउन सके सङ्क्रमण फैलिन नपाउने बताउँछिन्।

आवश्यक बजेटका साथै तीन तहका सरकारबीच समन्वयको अभावले गर्दा यस पटक क्वारन्टीन बनाउन नसकिएको स्थानीय तहको भनाइ छ।
सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्र केसी भन्छन्, "आवश्यक रकम, समन्वय र दोस्रो लहर आउला भन्ने नसोचेकै कारण क्वारन्टीन बनाउन पूर्वतयारी गर्न सकेनौँ।"
सङ्क्रमण देखिएको ठाउँमा स्वास्थ्यकर्मी परिचालन गरिएको र एन्टिजन परीक्षणमार्फत् सङ्क्रमित र उनीहरूसँग सम्पर्कमा आएका व्यक्तिको पहिचान गर्ने प्रक्रिया थालिएको प्रदेश स्वास्थ्य निर्देशक डा. रविन खड्काले बताए।
उनी भन्छन्, "स्थानीय र प्रदेश स्तरमा क्वारन्टीन भएकोले पहिलो लहरमा गाउँमा सङ्क्रमण देखिएको थिएन। अहिले क्वारन्टीनमा नराखेर सीधै घर जान दिँदा समुदायमा सङ्क्रमण फैलियो।"




















