चीन सुनखानी दुर्घटना: फसेका ११ श्रमिक जमिनमुनि कसरी दुई हप्तासम्म बाँचे

पहिलो खानी अन्वेषणकर्ता श्रमिकलाई आइतवार बिहान बाहिर निकालिएको थियो।

तस्बिर स्रोत, XINHUA

तस्बिरको क्याप्शन, पहिलो खानी अन्वेषणकर्ता श्रमिकलाई आइतवार बिहान बाहिर निकालिएको थियो
Published

चीनमा उद्धारकर्ताहरूले एउटा सुनखानीमा जमिनमुनि दुई सातासम्म फसेका ११ जना श्रमिकहरूको उद्धार गरेका छन्।

टेलिभिजन फुटेजमा देखिएअनुसार प्रकाशबाट बच्न आँखा ढाकेका पहिला श्रमिकलाई बाहिर निकालिँदा आपत्कालीन सेवाका मानिसहरूले ताली बजाएका थिए।

उक्त खानीमा अझै हराइरहेका १० श्रमिकहरू खोज्ने काम जारी छ।

शाङ्दोङ प्रान्तको हुसन सुनखानीको प्रवेश सुरुङ १० ज्यानुअरीमा एउटा विस्फोटनपछि ध्वस्त भएको थियो।

कुल २२ जना फस्नेगरी भएको उक्त घटनाको कारण अझै थाहा भएको छैन।

कम्तीमा एक जनाको मृत्यु भएको छ भने अझै बाँकी १० जना जमिनमुनि जीवितै छन् कि छैनन् थाहा छैन।

पहिलो खानी अन्वेषणकर्ता श्रमिकलाई आइतवार बिहान बाहिर निकालिएको थियो।

सुनखानी चीन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, खानीमा ड्रिल गर्ने काम निकै कठिन मानिन्छ

तत्कालै अस्पताल पुर्‍याइएका उनको अवस्थालाई 'निकै कमजोर' बताइएको छ।

उनको उद्धारपछिको एक घण्टापछि थप जना श्रमिकहरूलाई खानीको विभिन्न भागबाट निकालिएको थियो।

चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीका अनुसार तीमध्ये एक जना घाइते भएका छन्।

अधिकारीहरूले अन्य १० जनासँग अझै सम्पर्क स्थापित गर्न सकेका छैनन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अधिकारीहरूले अन्य १० जनासँग अझै सम्पर्क स्थापित गर्न सकेका छैनन्

केही अन्यलाई अस्पताल पुर्‍याइनुअघि उद्धारकर्ताको सहारामा आफै हिँडेको देखिएको थियो।

भासिएको सुरुङलाई खुला गरेर अघि बढ्नका लागि हप्तौँ लाग्ने देखिएपछि उद्धार प्रयासलाई निकै तीव्रता दिइएको थियो।

प्रमुख उद्धारकर्ता डु बिङ्जिअनले सरकारी समाचारपत्र ग्लोबल टाइम्सलाई भने: "आइतवार बिहान उद्धार गर्न बनाइएको डुँडले एउटा अवरोध छिचोलेर जमिनमुनिको सुरुङसम्म पुगेको थियो। जसले उद्धारकर्तालाई काम अगाडी बढाउन सघायो।"

सुरुमा उद्धार गरिएका व्यक्ति सुनखानीको भिन्न ठाउँमा फसेका थिए।

चीन सुनखानी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उद्धारकर्ताहरूले एउटा साँघुरो सुरुङबाट खानीभित्र फसेका श्रमिकहरूसँग सञ्चार गरेका थिए

दश जनाको अर्को समूहले भने केही दिनदेखि खाना र औषधि पाइरहेको थियो।

उक्त समूहले उद्धारकर्ताहरूलाई आफूहरूभन्दा १०० मिटर तल एक्ला श्रमिकसँग आफूहरूको एकप टक सम्पर्क भएको बताएका थिए।

अधिकारीहरूले अन्य १० जनासँग अझै सम्पर्क स्थापित गर्न सकेका छैनन्।

उद्धार अधिकारी डुले 'बाँकी मानिसहरू रहेको ठानिएको [खानीको] छैटौँ केन्द्रीय भागमा उद्धारकर्ता कहिले पुग्छन् भन्ने अझै थाहा हुन नसकेको' बताएका छन्।

श्रमिकहरू यतिका दिन कसरी जीवितै रहन सके?

एक हप्तासम्म त्यहाँ कोही जीवित रहन सक्ने कुनै सङ्केत पाइएको थिएन।

तर १७ ज्यानुअरीमा उद्धारकर्ताहरूले एउटा डुँडबाट तल अन्धकारमा पठाइएको डोरीमा कसैले तानेको महसुस गरे।

बाह्र जनाको उक्त समूहमध्ये ११ जना एकै ठाउँमा र एक जना अझ तल फसेको लिखत उनीहरूले माथिपट्टि पठाए।

एघार जनाको समूहमा रहेका एक जनाको विस्फोटनका क्रममा टाउकोमा चोट लागेको थियो जसलाई बिहीवार मृत घोषणा गरिएको थियो।

त्यसरी सम्पर्क गर्ने बाटो तयार भएपछि साँघुरो डुँडबाट तलपट्टि खाना र औषधि पठाइएको थियो।

Graphic of mine rescue
Presentational white space

झन्डै ६०० मिटर तल जमिनमुनि परेर पनि श्रमिकहरूले निरन्तर उद्धार टोलीसँग सम्पर्क गरिरहन सकेका थिए।

उनीहरूले दलिया र पोषणयुक्त तरल पदार्थ पाइरहेका थिए। उद्धार हुनुभन्दा केही दिनअघि ती श्रमिकहरूले ससेजको एउटा परम्परागत परिकार मगाएका थिए।

खानी दुर्घटना चीनमा दुर्लभ भने होइन।

त्यस्ता उद्योगमा सुरक्षा मापदण्ड कमजोर रूपमा लागु हुने गरेका छन्।

गत वर्षको डिसेम्बरमा एउटा कोइलाखानीमा कार्बन मनअक्साइड चुहिँदा २३ जना श्रमिकहरूले ज्यान गुमाएका थिए।

त्यस्तै प्रकृतिको घटनामा सेप्टेम्बरमा चोङ्इङबाहिरको अर्को घटनामा समेत १६ जना श्रमिकहरूको मृत्यु भएको थियो।

सन् २०१९ को डिसेम्बरमा दक्षिणपश्चिमी प्रान्त गुइझुको कोइलाखानीमा विस्फोटन हुँदा १४ जनाले ज्यान गुमाएका थिए।