काठमाण्डू भ्रमणमा रहेको चिनियाँ टोलीले राष्ट्रपतिसँग पोख्यो 'नेपालको स्थिरताबारे चिन्ता'

तस्बिर स्रोत, PM's Secretariat
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
- Published
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दा नेपालको राजनीतिक स्थिरताबारे चिन्ता जाहेर गरेको राष्ट्रपतिका एक विज्ञले बताएका छन्।
राष्ट्रपतिका सूचना तथा सञ्चार विज्ञ टिका ढकालले बीबीसीलाई भने: "नेपालभित्रको राजनीतिक स्थिरता र स्थायित्वप्रति चीनको चिन्ता छ भन्ने वहाँहरूको छलफलमा देखिएको थियो।"
सीपीसीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका आन्तरिक घटनाक्रमले दुई देशबीचको सम्बन्धमा कुनै असर नपार्ने कुरामा आश्वस्त पार्न खोजेको ढकालले बताए।
आइतवार राष्ट्रपति भण्डारीसँग झन्डै आधा घण्टा भेटेपछि चिनियाँ टोलीले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो।
राष्ट्रपति भण्डारीले नेपाल लोकतान्त्रिक बाटोबाट हिँडिरहेको र आफ्नो संविधान अनुरूप लोकतान्त्रिक बाटोबाटै त्यसको निरूपण हुने बताएको राष्ट्रपति कार्यालयले जनाएको छ।
तल्लो सदन विघटनपछिको अवस्थाबारे राष्ट्रपतिको भनाइ उद्धृत गर्दै ढकाल थप्छन्: "वहाँले यस विषय अहिले अदालतमा रहेकाले उसले नै सबै कुरा हेर्ने कुरा अवगत गराउनु भयो।"
बाँकी भेटघाटमा के कुरा भए?
प्रधानमन्त्री ओलीसँग उपमन्त्री इन्झोले सीपिसीको नेपालबारे र नेपाल कम्युनिस्ट पार्टीसँगको सम्बन्धबारे आफ्नो धारणा राखेको ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जनाएका छन्।
भट्टराईले आफ्नो फेसबुकमा लेखेका छन्: "वहाँ [ओली]ले एक चीन नीतिप्रति नेपालको अडान र चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिनेबारे पुनः आश्वस्त पार्नुभयो।"
भट्टराईको उक्त फेसबुक पोस्टमा पछिल्लो राजनीतिक घटनाक्रमबारे चर्चा भए/नभएको केही उल्लेख छैन।
सोमवार बिहान उपमन्त्री इन्झोले नेकपाको अर्को समूहका अध्यक्ष पुष्पकमल दाहालसँग समेत भेटेका छन्।

तस्बिर स्रोत, Reuters
प्रचण्ड निवास खुमलटारमा झन्डै एक घण्टा भएको बैठकमा 'पार्टीमा फुट नआइदिए हुन्थ्यो भन्ने आफ्नो पुरानै कुरा दोहोर्याएको' प्रचण्डनिकट एक नेताले बीबीसीलाई बताए।
उक्त टोलीले सोमवार बिहान माधवकुमार नेपालसँग भेटघाट गरेको बताइन्छ।
भ्रमणको सन्दर्भ
नेकपाभित्र सङ्कट चुलिएका बेला काठमाण्डूमा रहेकी चिनियाँ राजदूतको नेताहरू र राष्ट्रपतिसँग बारम्बार गरिएका विगतका भेटलाई एकथरीले नेकपाको एकता जोगाउने चिनियाँ प्रयासका रूपमा हेर्ने गरेको पाइन्छ।
संसद् भङ्ग भइसकेपछि समेत चिनियाँ राजदूत होऊ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको एउटा समूहका अध्यक्षद्वय दाहाल र नेपाललाई भेटेकी थिइन्।
आइतवार बीबीसीसँग कुरा गरेका नेकपाको दाहाल-नेपाल समूहका एक नेता विष्णु रिजालले समेत यो भ्रमण पछिल्लो राजनीतिक विकासक्रमपछि तय भएको बताएका थिए।
जसलाई जोडेर भ्रमण नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने उद्देश्यको 'अस्वाभाविक' भएको विश्लेषण हुने गरेको छ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले पछिल्लो भ्रमणले 'नेपालमा कम्युनिस्ट पार्टीहरू कसरी चल्नुपर्छ भन्ने विषयलाई चिनियाँहरूले प्रतिष्ठाको विषय बनाएको देखिएको' बताउँछन्।
उनी भन्छन्: "त्यसलाई जसरी नेपाली नेताहरूले ठाउँ दिइरहेका छन् त्यसले निर्णय प्रक्रियामा या त उनीहरू छैनन् या त उनीहरूले आफ्नो सार्वभौम अधिकारमा सम्झौता गरिरहेका छन् भन्ने सन्देश जान्छ।"




















