कोभिडः ईयूका सदस्य राष्ट्रका लागि पहिलो खोप अनुमोदन

तस्बिर स्रोत, EPA
युरोपेली सङ्घ (ईयू) को औषधिसम्बन्धी नियामक निकायले सो समूहमा आबद्ध २७ राष्ट्रमा फाइजर-बायोएनटेकले बनाएको कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ।
युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले संयुक्त राज्य अमेरिका र ब्रिटेनमा प्रयोगमा आइसकेको फाइजर-बायोएनटेकद्वारा निर्मित खोप ईयूका ४४ करोड ६० लाख बासिन्दामा प्रयोग गर्न सिफारिस गरेको हो।
त्यसको केही घण्टापछि युरोपेली आयोगले त्यसलाई औपचारिक रूपमा अनुमोदन गरेको छ।
ईयूका केही सदस्य राष्ट्रहरूमा आगामी आइतवारदेखि फाइजर-बायोएनटेकले बनाएको खोप वितरण गर्न थालिनेछ।
ईयूका सदस्य राष्ट्रहरूमा कोभिड-१९ सँग सम्बन्धित कारणले हालसम्म ३,११,००० व्यक्तिको मृत्यु भइसकेको छ।
क्रिसमस र नयाँ वर्ष २०२१ को बिदाका बेला हुने मानिसहरूको जमघटलाई लिएर सङ्क्रमण थप फैलिन सक्ने त्रास बढेको छ।

तस्बिर स्रोत, Getty Images
सङ्क्रमण थप फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जर्मनी र द नेदरल्यान्ड्स जस्ता देशले आंशिक लकडाउन नै गरिसकेका छन्।
यूकेमा देखिएको कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर ईयूका सदस्य राष्ट्रहरूले ब्रिटेनबाट हुने यात्रामा प्रतिबन्ध लगाइरहेका छन्।
नयाँ प्रकारको भाइरस पुरानोभन्दा झन् तीव्र गतिमा फैलिरहेको ब्रिटिश अधिकारीहरूले बताएका छन्।
ईएमएले खोपको रेटिङ्ग कसरी गर्यो?
फाइजर-बायोएनटेकले बनाएको खोप १६ वर्ष र सोभन्दा माथि उमेर भएका मानिसमा ९५ प्रतिशत प्रभावकारी देखिएको ईएमएले जनाएको छ।
"आजको सुखद समाचार भनेको धेरैका लागि पीडा र कठिनाइ निम्त्याएको कोरोनाभाइरस महामारी विरुद्धको लडाइँमा यो एउटा महत्त्वपूर्ण खुड्किलो हो," ईएमएकी कार्यकारी निर्देशक इमा कुकले भनिन्।
उनले अगाडि थपिन्, "हाम्रो बृहत् मूल्याङ्कनको अर्थ हामी ईयूका नागरिकहरूलाई यो खोपको सुरक्षा र प्रभावकारिताबारे ढुक्क भएर आश्वस्त तुल्याउन सक्छौँ र खोपले आवश्यक मापदण्डहरू पनि पूरा गरेको छ।"
"यद्यपि हामीले हाम्रो कामलाई यहीँ रोक्नेछैनौँ। ईयूमा यो खोप लिने मानिसहरूको सुरक्षाका लागि हामीले खोपको सुरक्षा र प्रभावकारितासम्बन्धी विवरणहरू सङ्कलन तथा तिनको विश्लेषण गर्ने काम हामीले गरिरहनेछौँ।"

तस्बिर स्रोत, PA Media
जर्मनीले थुप्रै खोप केन्द्रहरू खडा गरिरहेको छ र शुरूमा जोखिममा रहेका नागरिकलाई आइतवार खोपको पहिलो मात्रा दिने उसको अपेक्षा छ।
कोरोनाभाइरस विरुद्धको यो खोपको दुई मात्रा दिइन्छ। पहिलो मात्रा दिइएपछि रोगप्रतिरोधी क्षमता विकास हुन शुरू हुन्छ, तर दोस्रो मात्रा दिइएको सात दिनपछि मात्र त्यसले पूर्ण प्रभाव देखाउने बताइन्छ।

- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा





















