कोभिड: अमेरिकाद्वारा कोभिड-१९ को दोस्रो खोपको रूपमा मोडेर्नालाई अनुमति

मोडेर्नाको प्रयोगशालामा एक अनुसन्धानकर्ता

तस्बिर स्रोत, Moderna

तस्बिरको क्याप्शन, खोपको ६० लाख मात्रा वितरण गर्न तयार रहेको बताइएको छ
Published

अमेरिकी सरकारले कोभिड-१९ खोप मोडेर्नालाई दोस्रो खोपको रूपमा अनुमति दिएको छ। यसले खोपको दशौँ लाख मात्रा वितरण गर्न बाटो खुला भएको बताइएको छ।

अमेरिकी खाद्य तथा औषधि नियामक संस्था (एफडीए) ले गत हप्ता अनुमति दिएको फाइजर बायोएनटेकपछि मोडेर्ना वितरणमा आएको छ।

अमेरिकी सरकारले २० करोड मोडेर्ना खोप किन्न सहमति दिएको छ, जसमध्ये ६० लाख अब वितरणका लागि विभिन्न स्थानमा पठाउन तयार हुने बताइएको छ।

कोभिड-१९ सम्बन्धी मृत्यु र सङ्क्रमण संसारमै सबभन्दा धेरै अमेरिकामा छ।

महत्त्वपूर्ण प्रगति

जोन्स् हप्किन्स् विश्वविद्यालयका अनुसार अमेरिकामा ३१ लाख भन्दा बढि मानिसहरूको कोभिड-१९ का कारण मृत्यु भएको छ भने एक करोड ७२ लाख भन्दा बढी मानिसहरू सङ्क्रमित भएका छन्।

"ज्यानुअरी महिनामा भाइरसको सङ्क्रमणको समस्या शुरू हुनु र डिसेम्बरमा दुईवटा खोप तयार हुनु महत्त्वपूर्ण प्रगति हो," टेनेसीस्थित महारी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डा.जेम्स हिल्डर्थले भने।

एफडीए सल्लाहकार समितिले बिहीवार एकजना तटस्थ सहित २०-० मतका साथ खोपलाई अनुमोदन गरेको थियो।

१८ वर्ष र त्यो भन्दा माथिको उमेर समूहका लागि मोडेर्ना खोपले पार्न सक्ने जोखिमका तुलनामा फाइदा बढी रहेको भन्दै मतदान भएपछि अनुमति दिइएको हो। .

A small shopping basket filled with vials labelled "COVID-19 - Coronavirus Vaccine" and medical syringes are placed on a Moderna logo in this illustration taken November 29, 2020

तस्बिर स्रोत, Reuters

नियामकहरूले यो साताको शुरूमा मोडेर्ना खोप ९४% प्रभावकारी रहेको रिपोर्ट दिएका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अनुमति दिइएको भन्ने औपचारिक घोषणा हुनु घण्टौँ अघि ट्वीट गरे, जसमा उनले खोप 'अत्यधिक मतले अनुमोदित' भएको र 'वितरण तत्काल शुरू हुने' भन्दै खुशी व्यक्त गरेका थिए।

अमेरिकी खोप कार्यक्रमले एप्रिलसम्ममा ५ करोड मानिसलाई खोप लगाइसक्ने बताएको छ।

पहिले खोप पाउने को-को?

न्यूयोर्ककी नर्स स्यान्ड्रा लिन्ड्से सोमवार फाइजर खोप दिन शुरू भए यता खोप लिने पहिलो व्यक्ति बनेकी छन्।

उनले भनेकी थिइन्, "यो खोप हाम्रो इतिहासको निकै पीडादायक समयको अन्त्यको शुरूवात होस् भन्ने आशा गर्छु। खोप सुरक्षित छ भन्ने कुरा मानिसमा विश्वास होस् भन्ने चाहन्छु। महामारीका बेला हामी सबैले आ-आफ्नो जिम्मेबारी निर्वाह गर्नुपर्छ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, हर्ड इम्युनिटी

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको निर्देशिकामा स्वास्थ्यकर्मीहरूलाई प्राथमिकता सूचिमा राख्नुपर्ने बताइएको छ।

त्यसपछि लामो समयदेखि केयर होममा बसिरहेका अमेरिकी प्राथमिकतामा छन्।

अति आवश्यक क्षेत्रमा कार्यरतलाई त्यसपछिको प्राथमिकतामा राखिएको छ। तर कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने भन्ने कुरा राज्यहरूको निर्णयमा निर्भर हुनेछ।

सङ्घीय खोप वितरण कार्यक्रम अपरेशन वार्प स्पीडका प्रमुख वैज्ञानिक मन्सेफ स्लावीले युवा र स्वस्थ्य मानिसहरू सबैभन्दा पछाडि खोप पाउनेमा पर्नुपर्ने बताए।

नर्स सारा लिन्ड्से खोप लगाउँदै

तस्बिर स्रोत, EPA

कम्तीमा ७० अथवा ८० प्रतिशत अमेरिकीले खोप लिएपछि मात्रै हर्ड इम्यूनिटि अर्थात् सामुदायिक प्रतिरोध क्षमता विकास हुने उनको भनाइ छ।

फाइजर र मोडेर्ना कसरी फरक

मोडेर्नालाई एक ठाउँबाट अर्को ठाउँमा लैजान माइनस २० डिग्रीको तापक्रममा भण्डारण गरिएको हुनुपर्छ जुन साधारण फ्रिजरको तापक्रम हो।

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेक एसईले उत्पादन गरेको खोप भने माइनस ७५ डिग्रीमा भण्डारण गर्नुपर्ने हुन्छ। जसले गर्दा यताउता लैजाने काम तुलनात्मक रूपमा मुस्किल हुन्छ।

फाइजर जस्तै मोडेर्नाका लागि पनि दोस्रो बूस्टर डोज आवश्यक पर्छ।

मोडेर्नाको बूस्टर डोज पहिलो खोप लगाएको २८ औँ दिनमा लगाउनुपर्छ भने फाइजर खोपको दोस्रो मात्रा २१ औँ दिनमा लगाउनुपर्छ।

मोडेर्ना क्याम्ब्रिज म्यासाचुसेट्समा छ भने र उसले यसअघि अधिकांश उत्पादन त्यहीँ हुने बताएको थियो।