कोरोना भाइरस खोप: सोमवारदेखि अमेरिकामा कोभिड-१९ खोप दिन शुरू गरिने

A needle is filled from a phial of Pfizer/BioNTech Covid-19 vaccine

तस्बिर स्रोत, Reuters

Published

कोभिड-१९ विरुद्ध विकास गरिएको फाइजर बायोएनटेक कोरोनाभाइरस खोप आपत्‌कालीन प्रयोगका लागि अनुमति दिइएपछि अमेरिकामा सर्वसाधारणले सोमवारदेखि लगाउन पाउने अधिकारीहरूले बताएका छन्।

यो सप्ताहन्तमा पहिलो ३ करोड मात्रा खोप 'सबै राज्यहरूमा' पठाइएको खोप वितरणको जिम्मेवारी पाएका जेनरल गुस्ताभ पर्नाले भने।

यो खोप कोभिड-१९ विरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको र यसलाई अमेरिकी नियामक निकाय 'फुड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)'ले सुरक्षित ठहर गरेको छ।

शनिवारमात्रै अमेरिकामा सर्वाधिक ३,३०९जनाको मृत्यु भएको थियो।

उक्त सङ्ख्या जोन्स हप्किन्स विश्वविद्यालयले रेकर्ड गरेकोमध्ये संसारभरकै एकदिनमा उच्च मृत्यु हो।

एफडीएका प्रमुख स्टेफन हान ह्वाइट हाउसमा भएको प्रेस सम्मेलनमा

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, एफडीएका प्रमुख स्टेफन हानले आफू खोप लगाउन तयार रहेको बताएका थिए(फाइल फोटो)

अमेरिकामा नोभेम्बर यता कोरोनाभाइरसका कारण हुने मृत्यु तीव्र गतिमा बढिरहेको छ।

ट्रम्प प्रशाशनले कडा दबाव दिएपछि एफडीएले फाइजर खोपलाई आपत्‌कालीन प्रयोगका लागि शुक्रवार अनुमति दिँदै भनेको छ: महामारीमा यो 'महत्त्वपूर्ण' प्रगति हो।

शनिवारको प्रेस सम्मेलनमा जनरल पर्नाले भने, "अबको २४ घण्टामा खोप विभिन्न स्थानमा पठाइनेछ।"

"१४५ स्थानमा सोमवार खोप प्राप्त हुने, ४२५ स्थानमा मङ्गलवार प्राप्त हुने र ६६ स्थानमा बुधवार प्राप्त हुने अपेक्षा छ," उनले आगामी हप्ता फाइजर खोपको पहिलो वितरण सम्पन्न हुने र त्यसले ३ करोड मानिसलाई खोप लगाउन पुग्ने बताए।

पर्नाले संवाददाताहरूलाई खोप सुरक्षित रूपमा यथास्थानमा पुग्नेमा आफू 'शत प्रतिशत' विश्वस्त रहेको बताए।

यूके, क्यानडा, बाहरेन र साउदी अरेबियाका नियामक निकायले फाइजर खोपलाई अनुमति दिइसकेका छन्।

अन्य मुलुकमा झैँ अमेरिकाका स्वास्थ्य अधिकारीहरूले स्वास्थ्यकर्मी र केयर होममा बसेकाहरूलाई प्राथमिकता सूचिको पहिलो पङ्क्तिमा पार्ने ठानिएको छ।

उच्च प्राथमिकतामा परेका बाहेक अन्य अमेरिकीले ज्यानुअरीदेखि खोप पाउन शुरू हुने र एप्रीलसम्ममा सहज उपलब्ध हुने ठानिएको छ।

खोपबारे एफडीए के भन्छ?

एफडीए प्रमुख स्टेफन हानले भने, "विश्वव्यापी विध्वंशकारी महामारीको सङ्घर्षमा कोभिड-१९ विरुद्धको यो खोप पहिलो कोशे ढुङ्गा हो।"

'पारदर्शी र खुला समीक्षा'पछि खोपले सुरक्षा प्रभावकारिता र उत्पादन गुणस्तरमा वैज्ञानिक मापदण्ड पुर्‍याएपछि अनुमति दिइएको उनले बताए।

बिहीवार विज्ञहरूले खोपमा रहेको जोखिमको तुलनामा फाइदा निकै धेरै रहेको भन्दै त्यसलाई अनुमति दिन सुझाव दिएका थिए।

खोपले कसरी काम गर्छ?

फाइजर, खोप परीक्षणको अन्तिम चरणमा प्रभावकारी परिणाम देखाएको पहिलो खोप हो। यो एमआरएनए भनिने नयाँ प्रकारको खोप हो।

Coronavirus crisis volunteer Rhiannon Navin greets local residents arriving to a food distribution centre in New York

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, कोरोनाभाइरस सङ्कट स्वयम्‌सेवी रियानन नविन न्यू योर्कमा खाद्य वितरण केन्द्रमा आइपुगेका मानिसलाई स्वागत गर्दै

यसले महामारी मच्चाइरहेको भाइरसको सानो अंशको 'जेनेटिक कोड' प्रयोग गर्छ र त्यसले शरीरलाई कोभिड-१९ विरुद्ध कसरी लड्ने भन्ने सिकाउँछ अनि रोग प्रतिरोधी शक्ति विकास गर्छ।

"जब कुनै व्यक्तिले यो खोप पाउँछन् उनको शरीरले चुच्चो परेका प्रोटिनको सङ्ख्या वृद्धि गर्छ, तर त्यसले सङ्क्रमण गराउँदैन। बरु त्यसले रोग प्रतिरोधी शक्तिलाई कोरोनाभाइरस शरीरमा प्रवेश गरेको खण्डमा बचाउ गर्ने किसिमले प्रतिक्रिया गर्न सिकाउँछ।"

यो खोप २१ दिनको फरकमा दुईपटक दिइन्छ। दोस्रो मात्रालाई 'बूस्टर' भनिएको छ। पहिलो मात्रामा रोग प्रतिरोधी शक्ति बन्न थाल्छ तर दोस्रो मात्रा खोप दिएको सातदिनपछि यो पूर्ण प्रभावकारी बन्छ।

खोपलाई असाध्यै कम तापक्रममा भण्डारण गर्नुपर्छ।

फाइजरका अनुसार सुख्खा बरफ प्रयोग गरेर चिस्यानमा राखिएका खोपहरू खोप लगाउने स्थानसम्म पुर्‍याइनेछ।

उत्पादक कम्पनीले मार्चसम्ममा दश करोड मात्रा खोप अमेरिकालाई उपलब्ध गराउन सहमति गरेको छ।

मोडेर्ना र न्याशनल इन्स्टिच्यूट अफ हेल्थले विकास गरेको थप बीस करोड मात्रा दोस्रो खोप जून महिनासम्ममा उपलब्ध गराउने भनिएको छ। तर दोस्रो खोपले अमेरिकाबाट अनुमति पाइसकेको छैन।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर