अमेरिकामा ६१ वर्षीय हजुरआमाले आफ्नै नातिनी जन्माइन्

नया बच्चा

तस्बिर स्रोत, Ariel Panowicz / www.arielpanowicz.com

    • Author, होली होन्ड्रिच
    • Role, बीबीसी न्यूज, वाशिङ्टन
  • Published

अमेरिकाको नेब्रेस्कामा एक ६१ वर्षीय महिलाले आफ्नो समलिङ्गी छोरा र उनको श्रीमान्‌को सरोगेट आमा बन्दै आफ्नै नातिनी जन्माएकी छन्।

सेसेल एलेड्जले नौ महिना पेटमा हुर्काएर छोरा म्याथ्यु र इलिएट डोथ्रीका लागि गत हप्ता उमा लुइसलाई जन्म दिएकी हुन्।

एलेड्जले छोरा र उनको श्रीमान्‌ले परिवार शुरू गर्न चाहेपछि आफूले बच्चा जन्माइदिने प्रस्ताव राखेको बताइन्।

"शुरूमा सबैले हाँसोमा उडाए," उनले बीबीसीलाई भनिन्।

म्याथ्यु एलेड्ज र इलिएट डोथ्री

तस्बिर स्रोत, Ariel Panowicz / www.arielpanowicz.com

तस्बिरको क्याप्शन, म्याथ्यु एलेड्ज र इलिएट डोथ्री

तर जब छोरा एलेड्ज र डोथ्रीले बच्चाका लागि उपायहरू खोज्न थाले तब एक चिकित्सकले आमाको प्रस्ताव ठिक हुने बताए।

त्यसपछि केही परीक्षणहरू गरियो र एलेड्जलाई सोरोगेट आमा बन्न बाटो खुल्यो।

"म स्वास्थ्यप्रति धेरै सचेत छु," उनले भनिन्। "म गर्भवती हुनसक्ने कुरामा शङ्का गर्ने प्रश्नै थिएन।"

डिम्ब दान गर्ने लिया य्रीबसँग परिवार

तस्बिर स्रोत, Ariel Panowicz / www.arielpanowicz.com

तस्बिरको क्याप्शन, डिम्ब दान गर्ने लिया य्रीबसँग परिवार

उनका लागि छोराले वीर्य र छोराको श्रीमान्‌को बहिनीले डिम्ब दान गरे।

डोथ्रीले महिला र पुरुषको जोडीले बच्चा पाउनका लागि कृत्रिम गर्भाधानलाई अन्तिम प्रयासका रूपमा हेर्ने बताए।

"तर हामीलाई थाहा थियो समलिङ्गी जोडी भएकाले हामीले फरक सोच्नुपर्छ," छोरा एलेड्जले भने।

जन्म

तस्बिर स्रोत, Ariel Panowicz / www.arielpanowicz.com

पहिल्यै तीन सन्तान जन्माएकी आमा एलेड्जका लागि गर्भावस्था सामान्य नै रहेको थियो।

यो घटनाले अमेरिकाका समलिङ्गी समुदायप्रति रहेको भेदभावलाई भने देखाएको छ।

सन् २०१५ यता समलिङ्गी विवाहले मान्यता पाएको भए पनि सन् २०१७ सम्म नेब्रेस्कामा समलिङ्गी जोडीका लागि अभिभावन बन्न सम्भव थिएन।

जन्म

तस्बिर स्रोत, Ariel Panowicz / www.arielpanowicz.com

एलेड्जले आफ्नो गर्भावस्थाको स्वास्थ्य हेरचाहको खर्चका लागि बिमा कम्पनीसँग सङ्घर्ष गरे पनि सफल भइनन्।

उनले आफ्नो बच्चा जन्माएकी भए बिमा कम्पनीले उनको सबै स्वास्थ्य खर्च बेहोर्थ्यो।

र बच्चाको जन्मदर्तामा जसले बच्चा जन्मायो उसकै नाम लेखिने भएका कारण डोर्थीको नाम लेखिएन।

एलेड्जलाई चार वर्ष अगाडि समलिङ्गी विवाह गर्ने घोषणा गरेपछि स्कूट क्याथोलिक हाई स्कूलले शिक्षकको जागिरबाट निकालेको थियो।

उनको समर्थनमा शुरू गरिएको अनलाइन अभियानमा एक लाखभन्दा बढीले सहभागिता जनाएका थिए।

परिवार

तस्बिर स्रोत, Ariel Panowicz / www.arielpanowicz.com

उमाको जन्मको एक सातापछि एलेड्जले आफू र आफ्नो नातिनी स्वस्थ रहेको बताएकी छन्।

"यो सानो केटीले यति धेरै समर्थन पाएकी छन् कि उनी एउटा मायालु परिवारमा हुर्कने छिन्," उनले भनिन्।