कोरोना भाइरस नेपालः थप १२५५ जनामा सङ्क्रमण, २५ जनाको मृत्यु

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

Published

नेपालमा थप १,२५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार अपराह्ण जनाएको छ।

गत २४ घण्टाको अवधिमा देशभरि ८,००८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या झन्डै दुई लाख ३२ हजार पुगेको छ।

तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ।

अहिले थप सङ्क्रमित फेला परेपछि तथा केही १,४०० जना निको भएपछि देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १७,९०९ पुगेको छ।

कोरोनाभाइरस

मन्त्रालयको तथ्याङ्कअनुसार आइतवारसम्म नेपालमा १,४७९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

कति जना निको भए?

मन्त्रालयले आइतवार अपराह्ण प्रकाशित गरेको विवरणमा गत २४ घण्टाको अवधिमा थप १,४०४ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिलेसम्म कुल दुई लाख भन्दा बढी सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ। अर्थात् अहिले निको हुने दर ९१.६ प्रतिशत छ।

गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित फेला परेका थिए।

कोरोनाभाइरस सङ्क्रमणको लक्षण

को हुन् सङ्क्रमित?

अहिले फेला परेका सङ्क्रमितमध्ये ५११ महिला र ७४४ पुरुष छन्।

तीमध्ये काठमाण्डूमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ जनासहित उपत्यकामा ५४८ जनामा कोभिड-१९ पुष्टि भएको हो।

त्यसैगरी परीक्षणका क्रममा मोरङमा ७३, कास्कीमा ८३ र कैलालीमा ९८ जनामा पनि सङ्क्रमण देखियो।

अहिले सक्रिय सङ्क्रमितमध्ये काठमाण्डूमा ७,६३३ जना, भक्तपुरमा ६४८, र ललितपुरमा १,५१८ जना छन्।

अरू तथ्याङ्क के छ?

मन्त्रालयका अनुसार अहिले देशभरि झन्डै १३ हजार सङ्क्रमित घरमै र बाँकी संस्थागत आइसोलेशनमा छन्।

वाग्मती प्रदेशमा अहिले देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ४४.७ प्रतिशत भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३६१ जना सघन उपचार कक्षमा र ५३ जना भेन्टिलेरमा छन्।

उपत्यकाबाहिर झापा, मोरङ, कास्की र रूपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।

पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १३.४ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ।

पुष्टि भएका सङ्क्रमितमा मृत्युदर ०.६ प्रतिशत छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर