कोरोना भाइरस नेपाल: थप १,४७७ जनामा सङ्क्रमण पुष्टि, छ जनाको मृत्यु

कोरोनाभाइरस
तस्बिरको क्याप्शन, तिहारका कारण कोरोनाभाइरसको परीक्षण कम सङ्ख्यामा भएको छ
Published

नेपालमा विगत २४ घण्टामा थप १,४७७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि र छ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि ६,४७६ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक परीक्षण गरिने र सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख दश हजार नजिक पुगेको छ।

अहिले पुष्टि भएका ३५,१२५ जना सक्रिय सङ्क्रमित छन्।

सरकारको तथ्याङ्कअनुसार शनिवारसम्म नेपालमा १,२२१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

मन्त्रालयले अपराह्ण प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २,७९८ जना सङ्क्रमणमुक्त भएका छन्।

अहिलेसम्म कुल १७३,४३० जना सङ्क्रमणमुक्त भएको सरकारी तथ्याङ्क छ।

कोरोनाभाइरस

सङ्क्रमितहरू निको हुने दर ८१.९% प्रतिशत छ।

चाडबाडका बेला परीक्षणको सङ्ख्यामा कम भएको देखिन्छ।

तर परीक्षण गरिएका नमुनामा उच्च मात्रामा सङ्क्रमण पुष्टि हुने क्रम केही सातादेखि चलिरहेको तथ्याङ्कले देखाउँछ।

को हुन् सङ्क्रमित?

थप सङ्क्रमितमध्ये ५६५ जना महिला र ९१२ जना पुरुष भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये काठमाण्डूमा ६३२ जनासहित उपत्यकामा ८०७ जना छन्।

नुवाकोटमा ४४ र चितवनमा ३६ सहित बागमती प्रदेशमा ९१७ जना सङ्क्रमित थपिएका हुन्।

अहिले उपत्यकाका तीन जिल्लामा १८,८०४ सक्रिय सङ्क्रमित छन्।

देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३५४ जना सघन उपचार कक्षमा र ६४ जना भेन्टिलेटरमा छन्।

कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, चिसो, फ्लू र कोभिड-१९ का लक्षण कसरी छुट्याउने?