कोरोना भाइरस नेपालः थप ४४९९ जनामा कोभिड-१९, देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये आधा काठमाण्डू उपत्यकामा

Published

नेपालमा विगत २४ घण्टामा ४,४९९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको छ।

सो अवधिमा देशभरि कुल १६,८६३ वटा नमुनाको परीक्षण गरिएको थियो।

अहिले फेला परेका सङ्क्रमितमध्ये १,६९० जना महिला र २,८०९ पुरुष छन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ५३ हजार नाघेको छ।

चौबीस घण्टाको अवधिमा थप १७ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

योसहित नेपालमा अहिलेसम्म ८२९ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये २,७२० जना उपत्यकाका तीन जिल्लाका हुन्।

कति जना भए निको?

मन्त्रालयका अनुसार विगत २४ घण्टामा २,६६८ सङ्क्रमित रोगमुक्त भएका छन्।

अहिलेसम्म १,०५,४८८ सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्ख्या कुल सङ्क्रमितको ६८.९ प्रतिशत हो।

बिहीवार मन्त्रालयले ३,६३७ जनामा सङ्क्रमण र २१ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

अहिले ३१,४५४ सङ्क्रमित घरमै बसिरहेका छन् भने बाँकी संस्थागत आइशोलेशनमा छन्।

सङ्क्रमणका कारण जटिलता भएका २९० जना सघन उपचारमा र ७७ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ। गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

अहिले देशभरि ४६,६९१ जनामा सक्रिय सङ्क्रमण छ।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश २४,१३५ काठमाण्डू उपत्यकाका हुन्।

अर्थात् उपत्यकाका तीन जिल्लामा सक्रिय सङ्क्रमितमध्ये ५१.७ प्रतिशत छन्।

गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।

त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघ्यो।

यो पनि हेर्नुहोस्