कोरोना भाइरस नेपालः थपिए दुई हजार सङ्क्रमित, साढे आठ महिनामा कुल सङ्ख्या एक लाख नाघ्यो

Published

नेपालमा थप २,०५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

अहिले फेला परेका सङ्क्रमितमध्ये १,४०९ जनाभन्दा बढी काठमाण्डू उपत्यकाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ।

गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। त्यसको २६० दिनपछि अर्थात् झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १,६८० जना रोगमुक्त भएका छन्।

विगत २४ घण्टामा १० जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा अहिलेसम्म ६०० सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

बिहीवार मन्त्रालयले ४,३६४ सङ्क्रमित फेला परेको र १२ जनाको मृत्यु भएको बताएको थियो। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

नेपाल अतिप्रभावित देशमध्ये शीर्ष ५० भित्र परेको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ।

कति छन् सक्रिय सङ्क्रमित?

अहिले देशभरि २७,०५३ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये १५,८७७ जना घरमा र बाँकी ११,१७६ जना संस्थागत आइसोलेशनमा छन्।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ।

तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

विगत २४ घण्टामा १३,२७९ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिलेसम्म नेपालमा ७३,०२३ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७२.५ प्रतिशत हो।

गम्भीर लक्षण भएका ३१८ सङ्क्रमित सघन उपचारमा र ७५ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

को हुन् सङ्क्रमित?

अहिले विभिन्न ५८ जिल्लामा २,००० जनाभन्दा बढी व्यक्तिमा कोभिड-१९ पुष्टि भएको हो।

तीमध्ये ७३२ महिला र १,३२७ पुरुष छन्।

मन्त्रालयका अनुसार काठमाण्डूमा १,११६ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जना गरी कुल २,०५९ सङ्क्रमित फेला परेका हुन्।

त्यसैगरी मोरङमा ८६, मकवानपुरमा ६९, काभ्रेपलान्चोकमा ४०, चितवनमा ५१, दाङमा ६५ र बाँकेमा ४५ जनामा पनि कोभिड-१९ पुष्टि भयो।

को हुन् मृतक?

विगत २४ घण्टामा एक महिला र नौ पुरुष गरी १० जनाको कोभिड-१९ का कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

झापामा दुई, सुनसरीमा तीन, काठमाण्डू उपत्यकामा तीन र रूपन्देहीमा दुई जनाको मृत्यु भएको हो।

उनीहरू २९ देखि ८७ वर्षसम्मका छन्।