कोरोना भाइरस नेपालः एकै दिन पाँच हजार जनामा कोभिड-१९ पुष्टि, काठमाण्डू उपत्यकामा अहिलेसम्म ४० हजार सङ्क्रमित

Published

नेपालमा विगत २४ घण्टामा ५,००८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

अहिले फेला परेका सङ्क्रमितमध्ये २,६७२ जनाभन्दा बढी काठमाण्डू उपत्यकाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख पाँच हजार नाघेको छ।

चौबीस घण्टामा अवधिमा शनिवार अपराह्णसम्म थप १४ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।

नेपालमा अहिलेसम्म ६१४ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १,२२९ जना रोगमुक्त भएका छन्।

गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो। त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको छ

गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्। शुक्रवार २,०५९ सङ्क्रमित फेला परेका थिए।

बिहीवार मन्त्रालयले ४,३६४ सङ्क्रमित फेला परेको र १२ जनाको मृत्यु भएको बताएको थियो।

नेपाल अतिप्रभावित देशमध्ये शीर्ष ५० भित्र परेको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कले देखाउँछ।

कति छन् सक्रिय सङ्क्रमित?

अहिले देशभरि ३०,८१८ जनामा सक्रिय सङ्क्रमण छ। यो सक्रिय सङ्क्रमितको अहिलेसम्मको सर्वाधिक सङ्ख्या हो।

तीमध्ये १७,१६४ जना घरमा र बाँकी १३,६५३ जना संस्थागत आइसोलेशनमा भएको डा. गौतमले बताए।

वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ।

तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।

विगत २४ घण्टामा १९,३२० वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालय‍ले दिएको छ।

अहिलेसम्म नेपालमा ७४,२५२ जना सङ्क्रमित निको भइसकेका छन्।

यो सङ्क्रमितको कुल सङ्ख्याको ७०.२ प्रतिशत हो।

गम्भीर लक्षण भएका ३१२ सङ्क्रमित सघन उपचारमा र ७७ जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

को हुन् सङ्क्रमित?

अहिले विभिन्न ६८ जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्।

तीमध्ये काठमाण्डू जिल्लामा २,१०० जना, भक्तपुरमा २०३ जना ललितपुरमा ३६९ जना गरी उपत्यकामा कुल २,६७२ जनामा सङ्क्रमण देखा परेको छ।

त्यसैगरी मोरङमा ३६९, सुनसरीमा ३९४, चितवनमाट १४७, रूपन्देहीमा २१५ र सुर्खेतमा १३४ जनामा पनि कोभिड-१९ पुष्टि भयो।

सङ्क्रमितमध्ये १,८२३ जना महिला र ३,१८५ जना पुरुष छन्।

काठमाण्डू उपत्यकामा सङ्क्रमितको कुल सङ्ख्या ४०,३०० नाघेको छ।

अहिलेसम्म तीन जिल्लामा कोभिड-१९ का कारणले १९२ जनाको मृत्यु भएको छ भने २२,२९२ सङ्क्रमित निको भइसकेका छन्।

को हुन् मृतक?

विगत २४ घण्टामा दुई महिला र १२ पुरुषसहित १४ जनाको कोभिड-१९ का कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

उनीहरूको सुनसरी, मोरङ, सर्लाही, काठमाण्डू, भक्तपुर, ललितपुर, मकवानपुर, धादिङ, नवलपरासी पूर्व र रूपन्देहीमा मृत्यु भएको हो।

मृतकहरूको उमेर २० वर्षदेखि ९० वर्षसम्म भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा देखिन्छ।

नेपालमा ०.५८ प्रतिशत सङ्क्रमितको मृत्यु भएको छ।