कोरोना भाइरस नेपालः थप ३७ सय जनामा सङ्क्रमण, १८ जनाको मृत्यु
नेपालमा विगत २४ घण्टामा ३,७९० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।
सो अवधिमा देशभरि १५,७१४ वटा नमुना परीक्षण गरिएको थियो।
काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ।
अहिले पुष्टि भएका सङ्क्रमितमध्ये २,३८८ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।
योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३६ हजार नाघेको छ।
चौबीस घण्टाको अवधिमा सोमवार अपराह्णसम्म थप १८ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।
योसहित नेपालमा अहिलेसम्म ७५७ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

कति जना भए निको?
मन्त्रालयकाअनुसार २४ घण्टाको अवधिमा देशभरि २,३३५ सङ्क्रमित रोगमुक्त भएका छन्।
अहिलेसम्म ९४,५०१ सङ्क्रमित निको भइसकेका छन्।
यो सङ्क्रमितको कुल सङ्ख्याको ६९.५ प्रतिशत हो।
आइतवार मन्त्रालयले २,९४२ जनामा सङ्क्रमण र १२ जनाको मृत्यु भएको पुष्टि गरेको थियो।


- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा


गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।
गत शनिवार मन्त्रालयले ५,००८ जना सङ्क्रमित फेला परेको बताएको थियो। त्यो नै अहिलेसम्मको सर्वाधिक दैनिक वृद्धि हो।
कति छन् सक्रिय सङ्क्रमित?
अहिले देशभरि ४०,७७८ जनामा सक्रिय सङ्क्रमण छ।
तीमध्ये २६,९२७ जना घरमै र बाँकी संस्थागत आइसोलेशनमा छन्।
वाग्मती प्रदेशमा सक्रिय सङ्क्रमितको कुल सङ्ख्या अन्यत्रको भन्दा बढी छ। तीमध्ये अधिकांश काठमाण्डू उपत्यकाका हुन्।
गत वर्ष माघ महिनामा चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो।
त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघ्यो।

यो पनि हेर्नुहोस्
























