कोरोना भाइरस: कोभिड बिदाप्रति तीव्र आक्रोश पोखिएपछि डच राजपरिवार स्वदेश फर्केका छन्

द हेगस्थित दरबारमा राजपरिवारका सदस्य सवार सवारीसाधन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, द हेगस्थित दरबारमा राजपरिवारका सदस्य सवार सवारीसाधन
Published

कोरोनाभाइरस महामारीका बेला बिदा मनाउन विदेश हिँडेका डच राजपरिवारका सदस्य भोलिपल्टै स्वदेश फर्किएका छन्।

राजा विलेम र रानी म्याक्सिमा शुक्रवार ग्रीसतिर लागेका थिए तर शनिवार साँझ नै फर्किनुपर्‍यो।

नयाँ आंशिक लकडाउन लगाउन शुरू गरिएका बेला उनीहरू ग्रीसतर्फ लागेका थिए।

उनीहरूले कुनै नियम तोडेका थिएनन् तर तीव्र आलोचनाबाट आफूहरू प्रभावित भएको उनीहरूले बताए।

प्रधानमन्त्री दबावमा

प्रधानमन्त्री मार्क रुट उनले दिएको हुनसक्ने सुझावका कारण दबाबमा परेका छन्।

कोभिड १९ फैलिन नदिन सर्वसाधारणलाई घरमै बस्न सुझाइएका बेला सरकारी विमानमा ग्रीसतिर बिदा मनाउन गएको भन्दै राजपरिवारको तीव्र आलोचना भएको थियो।

त्यसपछि उनीहरू पहिले केएलएमको नियमित उडानबाट स्वदेश फर्किएका थिए।

दरबारको विज्ञप्तिमा भनिएको छ: "कोभिड-१९ भाइरस नियन्त्रणमा लिन निर्धारित निर्देशिका पालना हुनुपर्छ भन्नेबारे कुनै शङ्का छैन। हाम्रो बिदा मनाउने विषयमाथि भइरहेको बहसले त्यसलाई सहयोग पुर्‍याउँदैन।"

King Willem-Alexander and Queen Maxima

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, विलेम एलेग्जेन्डर सन् २०१३मा राजा बनेका थिए

सरकारमा बसेका कसलाई राजकीय बिदा मनाउनेबारे जानकारी थियो र राजपरिवारलाई कुनै सुझाव दिइएको थियो कि थिएन भन्नेबारे केही अन्यौल पैदा भएको छ।

नेदरल्यान्डको दैनिक राज्य सञ्चालन प्रक्रियामा डच राजपरिवारको कुनै औपचारिक भूमिका रहन्न।

तर प्रधानमन्त्रीले नेतृत्व गरेको मन्त्रालय राजपरिवार के भन्छ र के गर्छ भन्नेबारे जिम्मेवार रहन्छ।

त्यसैले कतिपय सांसदहरूले प्रधानमन्त्रीले राजपरिवारका सदस्यलाई उनीहरूको बिदा रद्द गर्ने सुझाव दिए कि दिएनन् भन्नेबारे स्पष्टिकरण दिन आग्रह गरेका छन्।

"यदि रुटले बिदामा जाने कुरा उचित नरहेको भन्ने सुझाव दिएको भए राजाले आफ्नो योजना परिवर्तन पो गर्थे कि" पीभीडीए पार्टीका पीटर रेविङ्कलले भने।

नेदरल्यान्डमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ।

शनिवार मात्रै ८००० भन्दा बढी नयाँ केस थपिएका थिए।

बारहरू रेस्टुराँहरू र कफी शपहरू चारहप्ताका लागि बन्द गरिएका छन्।

राजकीय जोडी उनीहरूको व्यवहारका कारण सार्वजनिक बहसमा आएको यो पहिलोपटक भने होइन।

अगष्ट महिनामा अघिल्लो ग्रीस भ्रमणक्रममा रेस्टुराँमा उनीहरूले सामाजिक दूरीको नियम भङ्ग गरेको तस्बिर सार्वजनिक भएको थियो।

विपक्षी सांसदहरूको बढ्दो दबाबका बीच राज परिवारको वार्षिक बजेटको समीक्षा भइरहेको छ।