कोरोना भाइरस भारत: भारतमा एकैदिन ८६ हजार सङ्क्रमित

तस्बिर स्रोत, Getty Images
भारतमा एकैदिनमा कोरोनाभाइरसबाट थप ८६ हजार मानिस सङ्क्रमित भएको पाइएको छ।
शनिवार दिइएका विवरणअनुसार २४ घण्टाको अवधिमा ८६,४३२ नयाँ सङ्क्रमित भेटिएका छन्।
सर्वाधिक वृद्धि
यो सङ्ख्या दैनिक सर्वाधिक वृद्धि हो। साथै विश्वमा अन्यत्र कुनै देशमा पनि एकैदिन यति धेरै सङ्ख्यामा सङ्क्रमित भेटिएका छैनन्।
वितेका तीन दिनदेखि भारतमा लगातार प्रतिदिन ८० हजारभन्दा धेरै सङ्क्रमित थपिएका छन्।

तस्बिर स्रोत, Getty Images
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ हालसम्म कोरोनाभाइरस सङ्क्रमणका कुल ४० लाख २३ हजारभन्दा धेरै मामिला भेटिएका छन्।
तीमध्ये साढे आठ लाख जति सक्रिय सङ्क्रमित छन् भने ३१ लाख मानिस निको भइसकेका छन्।
हालसम्म त्यहाँ कोभिड-१९ का कारण ६९,५६१ मानिसको ज्यान गइसकेको छ। शनिवार दिइएको विवरणमा २४ घण्टाको अवधिमा त्यहाँ १०८९ जनाको ज्यान गएको छ।
अमेरिका र ब्राजिलपछि भारत
अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले राखेको विवरण बमोजिम संसारभरि कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ करोड ६६ लाख नाघेको छ।
कोभिड-१९ ले हालसम्म संसारका आठ लाख ७६ हजार मानिसको ज्यान लिइसकेको छ।
सबभन्दा धेरै सङ्क्रमित अमेरिकामा पाइएका छन्। त्यहाँ ६२ लाख मानिस सङ्क्रमित भइसकेका छन् भने एक लाख ८८ हजारभन्दा धेरैको ज्यान गइसकेको छ।
दोस्रो स्थानमा ब्राजिल छ जहाँ ४० लाख ९१ हजारभन्दा धेरै सङ्क्रमित भेटिएका छन्। त्यहाँ एक लाख २५ हजार मानिसको ज्यान गइसकेको छ।
तेस्रो स्थानमा रहेको भारतमा तेज गतिमा सङ्क्रमण वृद्धि भइरहेको हुनाले ब्राजिललाई भारतले उछिन्ने देखिएको छ।


- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
- के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा





















