कोरोना भाइरस: अमेरिकामा सङ्क्रमितको सङ्ख्या ६० लाख माथि

अमेरिका

तस्बिर स्रोत, Reuters

Published

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० लाख नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा त्यो विश्वभर पुष्टि भएका कुल सङ्क्रमितको सङ्ख्यामा झण्डै एक चौथाइ हो।

अमेरिकामा दश लाख सङ्क्रमित एक महिनाभन्दा कम समयमा थपिएको विवरणहरूमा देखिन्छ।

पछिल्ला दिनमा दैनिक वृद्धिका घटना घट्दोक्रममा देखिए पनि अमेरिका सङ्क्रमित र मृत्यु दुवैतर्फ विश्वको सबैभन्दा धेरै प्रभावित देशको रूपमा छ।

अमेरिकाको वृद्धि कस्तो छ?

२१ ज्यानुअरीमा पहिलो सङ्क्रमण पुष्टि भएको अमेरिकामा अहिलेसम्म एक लाख ८३ हजारभन्दा बढीको भाइरस जोडिएका घटनामा मृत्यु भएको छ।

सङ्क्रमितको दश लाख सङ्ख्या २८ एप्रिल अर्थात् ९९ दिनमै पुगेको थियो।

र त्यसको ४३ दिनपछि सङ्क्रमितको सङ्ख्या दोबर भएको थियो।

३० लाख सङ्क्रमित अर्को २८ दिनमा पुगेका थिए।

त्यसपछिको अर्को १५ दिनमा त्यो ४० लाख पुगेको थियो।

त्यसको १६ दिनमा पचास लाख र अर्को २२ दिनमा सङ्क्रमण ६० लाखभन्दा बढीमा पुष्टि भयो।

खोपको स्वीकृतिमा 'गम्भीरता आवश्यक'

विश्वमा पुष्टि भएका सङ्क्रमितको सङ्ख्या साढे दुई करोड नाघ्दा कोभिड-१९ भएर ज्यान गुमाउनेको सङ्ख्या आठ लाख ४६ हजारभन्दा बढ्ता पुगेको छ।

तर वास्तविक सङ्ख्या निकै धेरै हुनसक्छ। किनकि सङ्क्रमण भएर पनि लक्षण नदेखिएका कैयौँ मानिसहरूले कहिल्यै परीक्षण नै नगराएका हुन सक्छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस रोक्ने खोप कहिले आउला

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कतिपय खोपहरूलाई आपत्कालीन अवस्थाका लागि अनुमति दिइएकोमा एउटा चेतावनी दिँदै त्यसप्रति 'निकै धेरै गम्भीरता र भावना' आवश्यक पर्ने जनाएको छ।

डब्ल्यूएचओकी प्रमुख वैज्ञानिक सोम्या स्वामिनाथनले हरेक देशसँग पूरा परीक्षणविनै औषधि स्वीकृति गर्ने अधिकार भए पनि 'त्यो हलुका रूपले गर्ने विषय नभएको' जनाएकी छन्।

उक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायका अनुसार यतिखेर सम्भावित ३३ वटा खोप मानव परिक्षणका लागि अगाडि बढिरहेका छन्।

र थप १४३ वटा मानव परीक्षण गर्नुअघिका मूल्याङ्कनका क्रममा छन्।

युरोपमा यो साता बालबालिकाहरू स्कूल जाने तयारी गरिरहँदा यूके, फ्रान्स र स्पेनमा भने आइतवारको तुलनामा सङ्क्रमणदर घटेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर