यूके ए लेभलः परीक्षाको नतिजामा एल्गरिदमले 'कसरी मेरो भविष्य अन्धकार बनाइदियो'

तस्बिर स्रोत, Victoria Jones
यूकेका विद्यार्थीहरूले कम्प्युटर प्रणालीको एल्गरिदमले आफ्नो परीक्षाको परिणाम खस्काइदिएका कारण विश्वविद्यालय जान पाउने मौका गुम्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
कोरोनाभाइरस महामारीका कारण परीक्षा स्थगित भएपछि विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने उद्देश्यसहित बनाइएको उक्त एल्गरिदमको चौतर्फी विरोध भइरहेको छ।
परीक्षाको नतिजाले उपयुक्त मूल्याङ्कन नगरेको हुनाले आफूहरू विश्वविद्यालय जान वञ्चित हुने हो कि भनेर धेरै विद्यार्थीहरू चिन्तित देखिएका छन्।
गरिबी रहेका कतिपय क्षेत्रका विद्यार्थीमाथि विभेद गरिएको पनि आरोप लागेको छ।
के यूके सरकारले एल्गोरिदमले किशोर विद्यार्थीहरूको आशा र सपनालाई तुषारापात गर्न छाडिदिएको हो त?
विद्यार्थीको पीडा
केट्लिन बाल्यकालदेखि नै मानव शरीर देखेर दङ्ग पर्ने गर्छिन्।
उनी सधैँ परीक्षामा ‘ए’ ल्याउँथिन्। बेल्फास्टस्थित क्वीन्स विश्वविश्वविद्यालयमा यसै वर्षको आरम्भमा अध्ययन गर्ने अवसर पाएपछि उनी चिकित्सक बन्ने आफ्नो सपनातर्फ अग्रसर भएकी थिइन्।
उनले आफ्नो अन्तिम परीक्षामा दुईवटा थप ‘ए’ ल्याउनुपर्ने थियो।
तर ए लेभलको परीक्षा स्थगित भएपछि उनी चिन्तित भइन्। ए लेभलकै परीक्षाको नतिजाका आधारमा विश्वविद्यालयहरूले कुन विद्यार्थीलाई कुन विषयमा भर्ना दिने निर्णय गर्छन्।

तस्बिर स्रोत, Victoria Jones
मूल्याङ्कन गर्न शिक्षकशिक्षिका तल्लीन भएको उनलाई थाहा थियो। विगतमा आफूले दिएका प्रत्येक परीक्षाले कस्तो प्रभाव पार्लान् भनेर उनी व्याकुल भइन्।
तर परीक्षाफल आउँदा ती कुनै कुराको अर्थ नभएको उनले भेउ पाइन्। उनले बी र सी प्राप्त गरिन् जसबाट चिकित्साशास्त्र अध्ययन गर्ने उनको सपनामाथि वज्रपात भयो। ती नतिजा एल्गोरिदमले दिएको पछि थाहा भयो।
“म विक्षिप्त भएँ,” उनी भन्छिन्, “१४ वर्षको मेरो औपचारिक शिक्षापछि मेरो प्रयासलाई सम्मान गर्नुपर्ने निकायले उल्टो मलाई लुट्यो र चिकित्सक बन्ने मेरो सपना खोसिदियो।”
उनी त्यस्तो किन भयो भनेर बुझ्न विद्यालय पनि गइन् तर त्यहाँ पनि त्यस्तै अलमलमा थियो। विद्यालयले उनले दुईवटा ए प्राप्त गर्ने भविष्यवाणी गरेको थियो तर त्यो भन्दा नराम्रो नतिजा आयो।
यूके सरकारले निर्माण गरेको एल्गोरिदमका कारण केट्लिनजस्ता दशौँ हजार विद्यार्थीले विश्वविद्यालय जाने मौका गुमाउन सक्छन्।
विद्यालय तहको अन्तिम परीक्षा रद्द
कोरोनाभाइरस महामारीपछि विद्यालयहरूको परीक्षा रद्द गर्ने विश्वकै पहिलोमध्ये एउटा यूके थियो। त्यसपछि सरकारले विद्यालयको तहको अन्तिम परीक्षा अलग्गै तरिकाले मूल्याङ्कन गर्ने निर्णय गर्यो।
शिक्षकहरूलाई परीक्षा अघि बढेको भए विद्यार्थीहरूले कुन ग्रेड प्राप्त गर्थे भनेर भविष्यवाणी गर्न लगाइयो। अनि उक्त भविष्यवाणी पक्षपात पूर्ण नहुने सुनिश्चित गर्नेगरी एल्गोरिदममा आधारित एउटा प्रणाली विकसित गरियो।
एल्गोरिदमले काम गर्न थालेपछि ४० प्रतिशत शिक्षकको भविष्यवाणी कम्तीमा एक ग्रेडले घट्यो। केट्लिनसहित केही विद्यार्थीको दुई वा बढी ग्रेड घट्यो।

तस्बिर स्रोत, Reuters
अधिकारीहरूले अघिल्लो वर्ष विद्यालयहरूले प्राप्त गरेका ग्रेडसँग लगभग मिल्दोजुल्दो हुनेगरी एल्गोरिदम विकास गरिएको र अहिलेको नतिजा खासै बढाइचढाइ नगरिएको बताएका छन्। तर यसले व्यक्तिगत मेहनत र सीपलाई भने बेवास्ता गरेको छ।
हालैका वर्षहरूमा आफ्ना ग्रेड सुधार्न मेहनत गरेका विद्यालयहरूलाई विगतको विफलता देखाउँदै पछि पारिएको पाइएको छ।
त्यसबाहेक सानो कक्षा र सीमित विद्यार्थी रहेका विद्यालयहरूमा शिक्षकहरूले भविष्यवाणी गरे अनुसारका ग्रेड दिइएको देखिन्छ।
निजी वा शुल्क लिने विद्यालयहरूबाट उच्च ग्रेड प्राप्त गर्ने विद्यार्थीहरूको सङ्ख्या पाँच प्रतिशतले बढेको छ।
सार्वजनिक क्षेत्रमा एल्गोरिदमको प्रयोगबारे अनुसन्धान गर्ने प्रविधि र न्यायसम्बन्धी परोपकारी संस्था फक्सग्लोबकी संस्थापिका मार्था डार्क भन्छिन्, “सरकारले आफ्ना नागरिकलाई नबुझाई वा आफ्ना नागरिक चाहन्छन् या चाहँदैनन् नसोधी एल्गोरिदमको प्रयोग गर्ने गरेको छ।”

तस्बिर स्रोत, Alamy
"सुरुमा कम्प्युटरबाट काम गराउने अनि पछि प्रश्न गर्ने परिस्थिति देखिएको छ।"
विरोध
फक्सग्लोभले ए लेभल परीक्षाको एल्गोरिदमलाई चुनौती दिइरहेको छ।
उसले यूके आउने प्रवेशाज्ञा कसले पाउने निर्क्योल गर्न एल्गोरिदमको प्रयोग गर्ने सरकारको निर्णयविरुद्ध मुद्दा नै दायर गरेको छ। उक्त संस्थाले एल्गोरिदमले पक्षपात गर्ने धारणा राख्दै आएको छ। यूकेको होम अफिसले एल्गोरिदमलाई खारेज गर्ने र प्रक्रिया पुनरवलोकन गर्ने बताएको थियो।
गत साता एल्गोरिदमको निर्णयबाट पछि हट्दै सरकारले शिक्षकहरूकै भविष्यवाणीका आधारमा ग्रेड उपलब्ध गर्ने निर्णय लिएको थियो। तर केट्लिनका लागि त्यसले कुनै सान्त्वना दिन सकेन।
क्वीन्स विश्वविद्यालयले उनलाई दिने भनिएको सीट अरू कसैलाई दिइएको जानकारी गरायो।

तस्बिर स्रोत, Alamy
यी घटनाक्रमले यूकेमा किशोरकिशोरीमा आक्रोश बढाएको छ र कडा मेहनत गरे पुरस्कृत भइन्छ भन्ने मान्यता भताभुङ्ग भए जस्तो देखिएको छ।
यूकेमा विश्वको सबैभन्दा महङ्गा निजी विद्यालयहरू छन्। देशभरि छ प्रतिशत विद्यार्थीहरूले मात्रै निजी क्षेत्रबाट शिक्षा हासिल गर्छन्। तर देशका उपल्लो १५ विश्वविद्यालयको विद्यार्थी निकायमा उनीहरूको लगभग ३० प्रतिशत पहुँच छ।
राम्रो नतिजा ल्याउने सबै विद्यालयमा निजी मात्रै छैनन्।
केट्लिन राम्रो ग्रेड ल्याउने इतिहास भएको सरकारी विद्यालयमा अध्ययनरत थिइन्।
तर पनि एल्गोरिदमको पछिल्लो चक्करले आफू पछि परेको उनको भनाइ छ।




















