ट्रम्प भन्छन्, ह्वाइट हाउस बाहिर गोली चल्यो

तस्बिर स्रोत, Reuters
एउटा पत्रकार सम्मेलन अचानक छाडेलगत्तै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउस बाहिर कसैलाई गोली हानिएको बताएका छन्।
उनले ह्वाइट हाउसमै सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिइरहेका थिए।
पत्रकार सम्मेलनको बीचमै उनका सुरक्षाकर्मीले उनलाई केही जानकारी दिएपछि ट्रम्पले पत्रकार सम्मेलन छाडेर भित्र गएका थिए।
तर भित्र गएर आएपछि उनले उक्त सम्मेलन जारी राखे र भने, "स्थिति नियन्त्रणमा छ।"
उनले पत्रकारहरूसँग आफूलाई अमेरिकी सिक्रेट सर्भिसका मानिसहरूले कुनै हतियारधारी सन्दिग्धलाई गोली हानेको जस्तो लागेको बताए।
उनका अनुसार उक्त घटनापछि कसैलाई अस्पताल लगिएको छ।
ट्रम्पले यो असामान्य स्थिति भए पनि सिक्रेट सर्भिसको व्यावसायिक ढङ्गले गर्ने कामको प्रशंसा गरे।

तस्बिर स्रोत, Reuters
पत्रकार सम्मेलन छाडेको नौ मिनेटपछि ट्रम्प पुन: सम्मेलनस्थल फर्केका थिए।
उक्त घटना उनीप्रति लक्षित भए वा नभएको बारे आफूलाई जानकारी नभएको ट्रम्पले बताए।
अमेरिकी सिक्रेट सर्भिसले पनि एक अधिकारी उक्त घटनामा सामेल भएको र कानुन कार्यान्वयन गर्ने अधिकारीहरू घटनास्थलमा हरेको जनाएको छ।




















