कोरोना भाइरसः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई फेसबुक र ट्विटरले गरे कारबाही

ट्रम्पको अन्तर्वार्ता

तस्बिर स्रोत, Fox News

Published

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उनको प्रचार अभियानले प्रेषित गरेका कोरोनाभाइरससम्बन्धी सामग्रीलाई फेसबुक र ट्विटरले कारबाही गरेका छन्।

तिनमा ट्रम्पले बालबालिकामा कोरोनाभाइरसलाई प्रतिरोध गर्ने क्षमता भएको दाबी गरेका थिए।

ट्रम्पले फक्स न्यूजलाई दिएको र फेसबुकमा प्रेषित एउटा अन्तर्वार्ताको अंशमा कोभिडसम्बन्धी “हानिकारक मिथ्या सूचना” भएको भन्दै फेसबुकले मेटिदिएको छ।

ट्विटरले पनि सोही अंश भएको ट्वीट नमेटेसम्मका लागि ट्रम्पको प्रचार अभियानको खाता निलम्बन गरिदिएको थियो।

अमेरिकी सरकारी निकायले दिएको जनस्वास्थसम्बन्धी सूचनामा बालबालिकामा कोभिड-१९ को प्रतिरोध गर्ने क्षमता नहुने उल्लेख छ।

फेसबुक र ट्विटरले के भने?

“यो भिडिओमा एउटा समूहका मानिसहरू कोभिड-१९ प्रतिरोधी छन् भनेर गरिएको मिथ्या दाबी समाविष्ट छ जुन कोभिडसम्बन्धी हानिकारक मिथ्या सूचनाबारे हाम्रो नीतिहरूको उल्लङ्घन हो,” फेसबुकका एक प्रवक्ताले बुधवार भने।

कोभिडसम्बन्धी नीति प्रयोग गरेर फेसबुकले ट्रम्पले प्रेषित गरेको सामग्री पहिलो पटक हटाइदिएको हो। तर उनको पेजमा प्रकाशित सामग्रीलाई फेसबुकले पहिला पनि कारबाही गर्ने गरेको थियो।

सोही अन्तर्वार्ताको अंश भएको सामग्री प्रेषित गरेपछि बुधवार नै ट्विटरले @TeamTrump को नाममा भएको खाता निलम्बित गरिदियो।

ट्विटरका एक प्रवक्ताका अनुसार उक्त ट्वीटले ट्विटरको कोभिड-१९ सम्बन्धी मिथ्या सूचनाबारे विद्यमान नीति उल्लङ्घन गरेको थियो।

ट्विटरका अनुसार उक्त खाताबाट फेरि अर्को ट्वीट गर्नुअघि खातावालले त्यो ट्वीट मेट्नुपर्ने जनाएको थियो। पछि उक्त ट्वीट मेटिएको पाइयो।

ट्रम्प

तस्बिर स्रोत, EPA

ट्रम्पले के भनेका थिए?

कोरोनाभाइरस र हाइड्रोक्सीक्लोरोक्वाइनबारे मिथ्या सूचनालाई प्रोत्साहन गरेको भन्दै गत महिना ट्विटरले ट्रम्पका छोराको खाता निलम्बन गरिदिएको थियो।

फक्स टीभीको एउटा कार्यक्रममा बुधवार बिहान टेलिफोनबाट बोल्दै ट्रम्पले देशभरि विद्यालय खोल्नुपर्ने तर्क गरेका थिए।

“यदि बालबालिकालाई हेर्ने हो भने बालबालिकाहरू लगभग - अनि म भन्छु निश्चित रूपमा – यो रोगविरुद्ध लगभग प्रतिरोधी छन्।”

बालबालिकाको प्रतिरक्षा प्रणाली अरूको भन्दा बलियो भएको तर्क गर्दै उनले भने, “अनि उनीहरूलाई कुनै समस्या छैन, उनीहरूलाई समस्या छँदैछैन।”

नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवार बन्न लागेका ट्रम्पले कोरोनाभाइरसबारे टिप्पणी गर्दै भने, “यो कुरो हराउनेछ। यो हराउने कुराहरूजस्तै हराउनेछ।”

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

कोरोनाभाइरस बालबालिकाका लागि कति डरलाग्दो?

बालबालिकालाई कोरोनाभाइरस सङ्क्रमण हुनसक्छ र तिनले सार्न पनि सक्छन्। तर यसबाट उनीहरू बिरामी पर्ने सम्भावना अतिन्यून भएको बताइन्छ।

वयस्कहरूलाई कोरोनाभाइरसले गम्भीर बिरामी बनाइदिन सक्छ। सङ्क्रमण हुँदा जटिलता उत्पन्न भएर वृद्धवृद्धाको त ज्यानै जान सक्छ।

अस्पतालमा भर्ना गरिएका ५५,००० भन्दा बढी बिरामी समाविष्ट गरेर अहिलेसम्म भएको सबैभन्दा ठूलो अध्ययनमा १९ वर्षमा बिरामीको सङ्ख्या ०.८ प्रतिशत मात्र देखिएको छ।

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमित ७,७८० बालबालिकामा गरिएको अर्को अध्ययनमा २० प्रतिशत सङ्क्रमित लक्षणविहीन थिए भने २० प्रतिशतमा फोक्सोमा घाउ भएको देखिएको थियो।

सङ्क्रमितमध्ये ३.३ प्रतिशतलाई सघन उपचार कक्षमा भर्ना गरिएको थियो भने केवल सात बालबालिकाको मृत् भएको टेक्स हेल्थ साइन्स सेन्टरको अनुसन्धानले देखाएको छ।