प्रचण्डलाई अध्यक्षबाट राजीनामा दिन किन उनकै निकट नेताले सुझाव दिए

प्रचण्डसँग हरिबोल गजुरेल

तस्बिर स्रोत, HARIBOLGAJUREL/FACEBOOK

Published

पार्टी फुट्नबाट जोगाउने एउटा अन्तिम अस्त्रको रूपमा प्रचण्डले अध्यक्षको पदबाट राजीनामा दिन आफूले सल्लाह दिएको नेता हरिबोल गजुरेलले बीबीसीलाई बताएका छन्।

आफूले प्रधानमन्त्री केपी ओलीसँग भेट्दा प्रधानमन्त्रीले सहमतिमा महाधिवेशन गर्ने कुरा भइसकेपछि एउटा अध्यक्षलाई जबरजस्ती हटाएर हुँदैन बरू प्रधानमन्त्री आफैँले अध्यक्षबाट राजीनामा दिएमा हुनसक्छ भनेको कुरा प्रचण्डलाई सुनाएको र परिआएको खण्डमा त्यो विकल्प प्रचण्डले पनि प्रयोग गर्न सक्ने सुझाव दिएको गजुरेलले बताएका छन्।

"मैले एक्लै भेट्दा अध्यक्ष प्रचण्डलाई पार्टी एकता बचाउन र गतिरोध तोड्न अन्तिम अस्त्रको रूपमा राजीनामा दिनुपर्ने सुझाव दिएको थिएँ। पछि पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यहरूको भेलामा पनि वहाँले केही उपाय लागेन भने हरिबोलजीले दिएको सुझाव प्रयोग गर्छु भन्नुभाथ्यो।"

'राजीनामाको उचित अवसर गुम्यो'

नेता गजुरेलका अनुसार उनको सुझाव कार्यान्वयन गर्ने उचित अवसर गत साता आइपरेको थियो जब प्रधानमन्त्रीले एकलौटी रूपमा स्थायी कमिटी बैठक स्थगित गरिदिएका थिए।

"बैठक एकतर्फी रोक्दा मलाई पार्टीको कार्यकारी अध्यक्ष भन्ने तर अधिकार प्रयोग गर्न नपाउने अवस्था बनाउने भनेर प्रचण्डले राजीनामाको अस्त्र प्रयोग गर्न सक्नुहुन्थ्यो।"

"आलोपालो त्यागेर कार्यकारी अध्यक्ष स्वीकारेको तर त्यो भूमिका पनि नदिँदा दुवै पद तपाइँनै चलाउनोस् भनेर प्रचण्डले त्यसो गरेको भए प्रधानमन्त्री केपी ओलीले गम्भीर रूपमा सोच्न बाध्य हुनुपर्थ्यो," गजुरेलले बताए।

आफ्नो सल्लाह मानेको भए एउटा निकास निस्कने तथा अहिले प्रचण्डमाथि पदलोलुपता देखाएको भनेर लागेका आरोप पनि खारेज हुने उनको भनाइ छ।

"त्यसबाट सहमतिको वातावरण समेत बन्ने थियो। तर कसको दबाब परेर हो त्यस्तो हुन सकेन।"

दुईवटै पदबाट छाड्न दबाब दिँदा जटिलता आयो

प्रचण्ड ओली

तस्बिर स्रोत, RSS

लामो समयदेखि प्रचण्डका निकट रहँदै आएका हरिबोल गजुरेलले यसपाली पार्टीभित्र चर्किएको विवादमा उनकै बोलीका कारण जटिलता थपिएको बताएका छन्।

स्थायी कमिटीको बैठकमा प्रचण्डले प्रधानमन्त्रीलाई दुवै पद छाड्न नभनेर बरू अहिले दुईजना अध्यक्षको प्रणालीले काम गर्न नसकेका कारण एउटा पद रोज्न भनेको भए पार्टी विवाद अर्कै स्थितिमा रहने थियो र निकास निस्किसक्ने थियो भन्ने उनको बुझाइ छ।

"एक्कासी दुवै पदबाट हट भन्ने कुरा आउँदा त टकराव हुने नै भयो। नक्साको विषय अनि राष्ट्रियताको विषयमा देश एकजुट हुँदै गर्दा प्रधानमन्त्रीबाट हट भनेको कुरालाई त जनताले राम्रो मानेनन् नी।"

'पछि हटेर पहल आउँछ'

आफूले राजीनामा दिन गरेको सुझाव पालना भएको भएपनि स्थितिले कोल्टे फेर्न सक्ने गजुरेलले बताए।

राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्ड

तस्बिर स्रोत, RSS

परिस्थितिअनुसार कुनै बेला पछि हटेर पनि पहल आफ्नो हातमा आउने भन्दै नेता गजुरेलले विगतमा माओवादीले एकतर्फी युद्धविराम गरेर पनि पछि पहल प्राप्त गरेको उदाहरण सुनाए।

उनले तत्कालका लागि पार्टी एकता सबभन्दा महत्त्वपूर्ण भएकाले आफूले त्यसै अनुरूप भनाइ राख्दै आएको जनाएका छन्।

गजुरेल तिनै नेतामध्येका एक हुन् जसले अघिल्लो वर्ष नयाँ सभामुख चयनका बेला पूर्व माओवादीका तर्फबाट अगाडि सारिएका अग्निप्रसाद सापकोटालाई जसरी पनि सभामुख नबनाए पूर्व माओवादीहरू पूर्व एमाले समूहमा विलीन भएको अर्थ लाग्ने जस्ता कडा टिप्पणी गरेका थिए।

तर पछिल्लो समयमा उनले प्रधानमन्त्री ओलीलाई रुचिकर लाग्न सक्ने भनाइहरू राखिरहेको लाई धेरैले अर्थपूर्ण मानेका छन्।