कोरोना भाइरसः डब्ल्यूएचओले घोषणा गरेकामध्ये 'सबैभन्दा गम्भीर स्वास्थ्य सङ्कट'

कोरोनाभाइरस डब्ल्यूएचओद्वारा घोषणा गरिएको छैटौँ विश्वव्यापी स्वास्थ्य सङ्कटकाल हो

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, कोरोनाभाइरस डब्ल्यूएचओद्वारा घोषणा गरिएको छैटौँ विश्वव्यापी स्वास्थ्य सङ्कटकाल हो
Published

कोभिड-१९ विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरेकामध्ये 'सबैभन्दा गम्भीर विश्वव्यापी स्वास्थ्य सङ्कट' भएको उसका प्रमुखले बताएका छन्।

डा. टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीबारे समीक्षा गर्नका लागि डब्ल्यूएचओको आपत्‌कालीन समितिको बैठक यसै साता पुनः बोलाउने बताए।

यसअघि विश्व स्वास्थ्य सङ्गठनले अन्य पाँचवटा स्वास्थ्य सङ्कटकाल घोषणा गरिसकेको छः इबोला (दुई पटक), जीका, पोलियो र स्वाइन फ्लु।

गत ज्यानुअरी महिनामा विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा गरिएयता विश्वभरि एक करोड ६० लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् भने साढे ६ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।

सुझाव

"ज्यानुअरीको ३० तारिखमा मैले जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय सङ्कटकालको घोषणा गर्दा चीनबाहिर सयवटा मात्रै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो, मृत्यु भएकै थिएन," टेड्रोसले भने।

"कोभिड-१९ ले हाम्रो विश्वलाई बदलिदिएको छ। त्यसले मानिसहरूलाई, समुदायहरूलाई र देशहरूलाई एकसाथ ल्याइदिएको छ र उनीहरूलाई अलग पनि पारिदिएको छ।"

विगत ६ हप्तामा कुल सङ्क्रमित सङ्ख्या सालाखाला दुई गुनाले बढेको उनले बताए।

कोरोनाभाइरससँग जुझ्नका निम्ति विश्वले ठूलो प्रयत्न गरिरहे पनि "अझै धेरै गर्न बाँकी रहेको" टेड्रोसले उल्लेख गरे।

विश्व स्वास्थ्य सङ्गठनको आपत्‌कालीन कार्यक्रमका निर्देशक माइक रायनले "भविष्यमा सीमाहरू बन्द राखिराख्न देशहरूका लागि लगभग असम्भव हुने" बताएका छन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

"अर्थतन्त्रहरू खुला हुनुपर्ने हुन्छ, मानिसहरूले काम गर्नुपर्ने हुन्छ, व्यापार पुनः शुरू गर्नुपर्ने हुन्छ," उनले थपे।

यद्यपि फेरि सङ्क्रमण फैलिएका देशहरूमा थप लकडाउन गर्न आवश्यक पर्न सक्ने विश्व स्वास्थ्य सङ्गठनका अधिकारीहरू स्वीकार्छन्।

तर सम्भव भएसम्म छोटो समयका लागि र निश्चित भूगोलका लागि हुनुपर्ने उनीहरूको सुझाव छ।

"भाइरसलाई हामी जति बुझ्छौँ त्यति नै हामी त्यसलाई नियन्त्रण गर्न सक्छौँ," उनले थपे।