कोरोना भाइरस महामारी: संयुक्त राष्ट्रसङ्घले माग्यो १०.३ अर्ब डलर आर्थिक सहायता, विपन्न देशमा प्रयोग गरिने

यमन

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, यमनमा एकचौथाइ सङ्क्रमितको कोरोनाभाइरसका कारण मृत्यु भएको बताइन्छ
Published

संयुक्त राष्ट्रसङ्घले कोरोनाभाइरस महामारीविरुद्ध सङ्घर्ष गर्न १० अर्ब ३० करोड डलर रकमका लागि अपील गरेको छ। यो उसले अहिलेसम्म आर्थिक सहायताका लागि गरेको सबैभन्दा ठूलो आह्वान हो।

राष्ट्रसङ्घले कोभिड-१९ का कारण यो वर्षको अन्त्यसम्म २६ करोड ५० लाख मानिसहरूले भोकमरी सामना गर्नुपर्ने बताएको छ।

उक्त रकम कम आय भएका र कमजोर देशहरूमा प्रयोग गरिनेछ।

राष्ट्रसङ्घले उक्त रकम उठाउन नसकिए दशकौँदेखिको विकास खेर जाने चेतावनी दिएको छ।

उसले गत मार्चमा दुई अर्ब डलरका लागि अपील गरेको थियो।

मारमा गरिब

जिनीभास्थित बीबीसी संवाददाताका अनुसार कोरोनाभाइरसका कारण विश्वका गरिबहरूलाई सबैभन्दा ठूलो असर परेको छ।

धनी राष्ट्रहरूले आफ्नो अर्थतन्त्र जोगाउन नियमको पालना नगरेको भन्दै उसले अब तिनले विपन्न राष्ट्रहरूका लागि पनि त्यस्तै गर्नुपर्ने बताएको छ।

यदि उनीहरूले त्यसो नगरे विश्वले शृङ्खलाबद्ध सङ्कट भोग्नुपर्ने र लाखौँ मानिसहरू भोकमरीमा पर्ने चेतावनी राष्ट्रसङ्घले दिएको छ।

लकडाउनका बेला कामबाट हटाइएका लाखौँ आप्रवासी कामदारहरूले आफ्नो घरमा रकम पठाउन नपाएको, बालबालिकालाई रोगबाट बचाउने खोप लगाउन नसकिएको र वर्षौँदेखि द्वन्द्वमा फसेका देशहरू कोभिड-१९ लाई सामना गर्न सक्षम नरहेको उसको भनाइ छ।

द्वन्द्वग्रस्त यमनमा सङ्क्रमण पुष्टि भएकामध्ये एकचौथाइ मानिसको मृत्यु भएको छ। अर्थात् त्यहाँ कोभिडका कारण विश्वभरिको औसत मृत्युदरभन्दा पाँचगुना बढी मृत्यु भइरहेको छ।

यो यूकेको विपद् आकस्मिक समिति (डीईसी) ले महामारीका कारण विश्वका सबैभन्दा कमजोरहरूलाई सहायता गर्न पहिले गरेको जस्तै अपील हो।

त्यसबेला विभिन्न १४ वटा परोपकारी संस्थाहरूले संयुक्त रूपमा ब्रिटेनका नागरिकहरूलाई रकम प्रदान गर्न अपील गरेका थिए।

विश्वमा हालसम्म एक करोड ३० लाख मानिसमा कोभिड-१९ पुष्टि भएको। तीमध्ये छ लाख जनाको मृत्यु भइसकेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?