कोरोना भाइरस यूके: जाडोयाममा महामारी 'झन् खतरनाक हुनसक्ने'

कोरोना भाइरस

तस्बिर स्रोत, Getty Images

    • Author, मिशेल रोबर्ट्स
    • Role, स्वास्थ्य सम्पादक, बीबीसी न्यूज अनलाइन
  • Published

यूकेमा आगामी जाडोयाममा आउने कोरोनाभाइरस महामारीको दोस्रो लहरमा थप १,२०,००० मानिसको ज्यान जान सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्।

वस्तुपरक प्रक्षेपण गर्दा कस्तो देखिन्छ भनेर हेर्दा उनीहरूले करिब २५,००० देखि अढाइ लाखसम्मको अस्पतालमा मृत्यु हुनसक्ने अनुमान गरेका छन्। त्यतिखेर महामारी उत्कर्ष ज्यानुअरी तथा फेब्रुअरीमा पुग्ने ठानिएको छ।

हालसम्म यूकेमा ४४,००० भन्द बढी मानिसको ज्यान गएको तथ्याङ्क छ।

तर वैज्ञानिकहरूले गरेको अनुमानमा लकडाउनको प्रभाव वा उपचार वा खोपको उपलब्धताबारे हिसाब गरिएको छैन।

जोखिम घट्न पनि सक्छ

अनि वैज्ञानिकहरूले भनेका छन्, "तत्काल कदमहरू चालिएमा यो जोखिम घट्न सक्छ।"

यूकेका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालान्सको अनुरोधमा तयार पारिएको प्रतिवेदनमा जाडोयाममा कोरोनाभाइरसले कस्तो व्यवहार देखाउला भन्ने विषयमा अझै धेरै अनिश्चय रहेको पनि उल्लेख छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

तर अनुसन्धानहरूमा चिसो हावापानीमा भाइरस लामो समय बाँच्न सक्ने र थप सङ्क्रमण हुन सक्ने देखिन्छ किनभने त्यतिखेर धेरै मानिस घरभित्रै लामो समय बस्छन्।

त्यसमाथि सो याममा अरू मौसमी रुघाखोकीको पनि प्रकोप हुनसक्ने अनि अहिले महामारीका कारण उपचार हुन नपाएका कैयौँ मामिलाको पनि बाँकी रहेका बोझ हुने हुनाले स्वास्थ्य सेवामा अधिक चाप पर्न सक्ने चिन्ता विज्ञहरूको छ।

सो प्रतिवेदनका अनुसार अहिले नै महामारीको पहिलो लहरका कारण अन्य बिमारीका उपचार पाउन प्रतीक्षारतहरूको सूची लामो भइसकेको छ र यो वर्षको अन्त्यसम्म त्यो एक करोडजति पुग्न सक्छ।

प्रतिवेदनको अर्थ के हो?

यो प्रतिवेदनले आफ्नो अनुमानमा धेरै अनिश्चयता रहेको प्रष्ट पारेको छ।

कोरोना भाइरस

तस्बिर स्रोत, Reuters

यो यसै हुन्छ भन्ने भविष्यवाणीभन्दा पनि यसो हुन सक्छ भन्ने अनुमान मात्र हो।

यस्ता अनुमान सधैँ वास्तविकतासँग मेल नखान पनि सक्छन्। किनभने कुनै पनि तत्त्वमा आउने थोरै परिवर्तनले पनि परिणाम भिन्न हुनसक्छ।

समग्रमा सन्देश के हो भने - खराब अवस्थाका निम्ति तयार होऊ तर उत्तम अवस्थाको आशा पनि गर।

हाल यूकेमा कोरोनाभाइरसका मामिला तथा त्यसबाट भएका मृत्युको सङ्ख्या घटेको छ। विज्ञहरूले यही मौकामा जाडोयाम तथा दोस्रो लहरका निम्ति तयारी गर्नुपर्ने सुझाव दिएका छन्।

प्रतिवेदनले दिएका सुझावहरू

उक्त प्रतिवेदन बनाउने टोलीका प्रमुख प्राध्यापक स्टीभन होल्गेटले यसलाई भविष्यवाणी नभई सम्भावना मान्न सुझाव दिएका छन्।

"हामीले तत्काल कदमहरू चाल्यौँ भने यस्तो हुने सम्भावना कम हुन्छ," उनले भने।

उक्त प्रतिवेदनले दिएका केही सुझाव यस्ता छन् -

  • परीक्षण तथा सम्पर्क पहिचानको कार्यक्रमको क्षमता अभिवृद्धि गर्ने ताकि कोरोनाभाइरस, फ्लू तथा अन्य जाडोयाममा देखापर्ने सङ्क्रमणहरूको लक्षण खुट्ट्याउन सकियोस्
  • फ्लूको खोप धेरैभन्दा धेरै मानिसलाई उपलब्ध गराउने
  • अस्पताल तथा स्याहार गृहहरूमा पर्याप्त पीपीई वा स्वास्थ्य सुरक्षाका पोशाक उपलब्ध गराउने
  • अस्पतालहरू तथा स्याहार गृहहरूमा सङ्क्रमण रोक्न कोरोनाभाइरस मुक्त क्षेत्रको स्थापना गर्ने
भिडिओ क्याप्शन सुरु हुँदैछ, के कोरोनाभाइरस प्रतिरोध गर्ने क्षमता बन्न सक्छ?