कोरोना भाइरस: विश्वभरि मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघ्यो

अस्पताल

तस्बिर स्रोत, EPA

Published

कोरोनाभाइरस महामारीका कारण विश्वभरि मृत्यु हुनेको सङ्ख्या पाँच लाख नाघेको छ।

कुल सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख जनाभन्दा बढी छ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा एक लाख २५ हजार जनाभन्दा धेरैले ज्यान गुमाएका छन्।

त्यहाँ सङ्क्रमतिको सङ्ख्या पनि सबैभन्दा बढी २५ लाख जनाभन्दा धेरै छ।

डढेलो जस्तो सङ्क्रमण

अमेरिकामा सङ्क्रमण झन् बढ्ने चिन्ता अधिकारीहरूमा पाइन्छ।

भाइरसले दक्षिण एशिया र अफ्रिकालाई पनि प्रभावित तुल्याइरहेको छ र त्यो जुलाई महिनामा उच्च विन्दुमा पुग्ने ठानिएको छ।

कोरोनाभाइरस

तस्बिर स्रोत, Getty Images

विश्वका कुल सङ्क्रमितमध्ये आधा अमेरिका र युरोपमा छन्।

बीबीसीका एकजना संवाददाता भन्छन्, "अधिकांश युरोपली देशहरूले त्यहाँ स्थिति नियन्त्रणमा रहेको विश्वास गरिरहेका बेला अमेरिकामा भने सङ्क्रमण जङ्गलमा लागेको डढेलो जसरी फैलिरहेको छ।"

जोन्स् हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्क अनुसार अमेरिकापछि सबैभन्दा प्रभावित देश ब्रजिल हो।

१३ लाखभन्दा बढी सङ्क्रमित रहेको ब्रजिलमा ५७ हजार मानिसको मृत्यु भएको छ। त्यसपछि सबैभन्दा धेरैको मृत्यु हुने देशहरूमा ब्रिटेन, इटली र फ्रान्स छन्।

तर बढी सङ्क्रमितहरू भएका देशहरूमा तेस्रोस्थनमा रहेको रुसमा छ लाखभन्दा धेरै र भारतमा ५ लाखभन्दा बढी सङ्क्रमित छन्।

त्यस्तै पाँचौँ स्थानमा रहेको ब्रिटेनमा सङ्क्रमितको सङ्ख्या तीनलाख भन्दा बढी छ। रुस र भारतमा मृत्यु हुनेको सङ्ख्या कम भए पनि सङ्क्रमणको गति तीव्र छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर