कोरोना भाइरस अमेरिकाः एकै दिन ४०,००० सङ्क्रमित फेला परे, अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि

रेष्टुराँ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, टेक्सस राज्यमा सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्यामा व्यापक वृद्धि भएको छ
Published

संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा ४०,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

फ्लोरिडा राज्यमा मात्रै झन्डै ९,००० नयाँ सङ्क्रमित थपिएका छन् जुन सङ्ख्या अघिल्लो दिनको तुलनामा ६२ प्रतिशतले बढी हो।

कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरूको सङ्ख्यामा वृद्धि देखिएसँगै फ्लोरिडा र टेक्सस दुवै राज्यले फेरि प्रतिबन्धात्मक उपायहरू अवलम्बन गरेका छन्।

अमेरिकाले "गम्भीर समस्या"को सामना गरिरहेको कोरोनाभाइरससम्बन्धी सरकारका एक प्रमुख सल्लाहकार डा. एन्थोनी फाउसीले बताएका छन्।

सर्वाधिक सङ्ख्या

दुई महिनायता 'ह्वाइट हाउस टास्क फोर्स'को पहिलो ब्रीफिङमा बोल्दै उनले भने, "त्यसलाई अन्त्य गराउने एक मात्र उपाय भनेको हामी सबै मिलेर अन्त्य गराउने हो।"

डा. फाउसीले कोरोनाभाइरस सङ्क्रमण फैलिने क्रमलाई रोक्न नसकिए राम्रो गरिरहेका देशका अन्य भाग पनि अब प्रभावित हुनसक्ने बताए।

उपराष्ट्रपति माइक पेन्सले पनि १६ वटा दक्षिणी राज्यहरूमा सङ्क्रमण बढ्दै गएको स्वीकारेका छन्।

तर भाइरस फैलिने क्रमलाई अमेरिकाले सफलतापूर्वक मन्द बनाइदिएको उनको दाबी छ।

फ्लोरिडा

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, फ्लोरिडाको एउटा समुद्री तटमा देखिएको भिड

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रवार थप ४०,१७३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।

यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

अमेरिकामा हालसम्म २४ लाख व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने देशभरि १,२५,००० भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन्।

कोरोनाभाइरस सङ्क्रमित र त्यसबाट मृत्यु हुने सङ्ख्याको हिसाबले अमेरिका विश्वमै पहिलो स्थानमा छ।

अमेरिकी स्वास्थ्य अधिकारीहरूका अनुसार देशमा सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या अहिले भनिँदै आएकोभन्दा कैयौँ गुना बढी हुनसक्छ।

बिहीवार सेन्टर्स फर डिजीजेज कन्ट्रोल (सीडीसी)ले सङ्क्रमितको वास्तविक सङ्ख्या अहिले पुष्टि भएका सङ्क्रमणभन्दा दशगुना बढी हुनसक्ने बताएको थियो।

आगामी अक्टोबर महिनासम्ममा १,८०,००० व्यक्तिको मृत्यु हुन सक्ने वाशिङ्टन विश्वविद्यालयको अनुमान छ।

तर ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाए त्यो सङ्ख्या १,४६,००० मात्र हुने उसको भनाइ छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space