तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस भारत: एकै दिन १५,००० जनाभन्दा बढीमा सङ्क्रमण पुष्टि
भारतमा विगत २४ घण्टामा १५,००० भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको सरकारको तथ्याङ्कले देखाएको छ।
केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार यो वृद्धिसँगै देशभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको कुल सङ्ख्या चार लाख नाघेको छ।
अमेरिकास्थित जोन्स हप्किन्सले सङ्कलन गरेको कोरोनाभाइरसको विश्वव्यापी तथ्याङ्कले भारत सर्वाधिक प्रभावित देशको सूचीमा अमेरिका, ब्रजिल र रुसपछि चौथो स्थानमा परेको देखाउँछ।
अहिले भारतमा कोरोनाभाइरस नियन्त्रण गर्ने उद्देश्यले हप्तौँ लगाइएको लकडाउन केही खुकुलो बनाइएको छ।
प्रतिबन्धहरू खुकुलो पारिँदा सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने आशङ्का विज्ञहरूको छ।
भारतमा सङ्क्रमण अझै उत्कर्षमा पुग्न बाँकी भएको बताइन्छ।
सर्वाधिक सङ्ख्या
विगत २४ घण्टामा भारतमा १५,४१३ जनामा सङ्क्रमण पुष्टि भएको हो। यो एकै दिन वृद्धि भएको सर्वाधिक सङ्ख्या हो।
सो अवधिमा ३०६ जनाको मृत्यु भएको सरकारले बताएको छ।
यससँगै मृतकको कुल सङ्ख्या १३,२५४ पुगेको छ।
अहिले भारतमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ४,१०,४६१ छ भने तीमध्ये दुई लाखभन्दा बढी व्यक्ति निको भएका छन्।
भारतको महाराष्ट्र राज्यमा सर्वाधिक सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका छन्।
त्यसपछि तामिलनाडु र दिल्ली धेरै प्रभावित भएका छन्।
नेपालसँग सीमा जोडिएका पश्चिम बङ्गाल, उत्तर प्रदेश, बिहार तथा उत्तराखण्ड राज्यमा सङ्क्रमित व्यक्ति भेटिने क्रम जारी छ।
विश्वभरि झन्डै ८८ लाख जनामा सङ्क्रमण पुष्टि हुँदा ४,६४,००० भन्दा बढी व्यक्तिको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ।
कुल मृत्युमध्ये एकचौथाइ अमेरिकामा भएको हो।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ