फेसबुक: अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै डोनल्ड ट्रम्पको विज्ञापन हटाइयो

फेसबुक

तस्बिर स्रोत, Getty Images

Published

अपमानजनक चिन्ह प्रयोग गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित एउटा विज्ञापनलाई हटाइदिएको छ।

फेसबुकका अनुसार उक्त विज्ञापनमा उल्टो रातो त्रिकोण प्रयोग गरिएको छ जुन जर्मनीमा नाजीहरूले कम्युनिस्ट लगायतका आफ्ना विपक्षीहरूको वर्णन गर्न प्रयोग गर्थे।

ट्रम्पको चुनावी अभियानको व्यवस्थापन गरिरहेको समूहले भने उक्त विज्ञापन उग्रवामपन्थी समूह एन्टिफातर्फ लक्षित गरिएको बताएको छ।

उक्त समूहले त्यो चिन्ह प्रयोग गर्ने गरेको उनीहरूले दाबी गरेका छन्।

चिन्ह

तस्बिर स्रोत, Getty Images

फेसबुकले भने त्यो विज्ञापनले आफ्नो नीतिको उल्लङ्घन गरेको बताएको छ।

उक्त विज्ञापन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सका नाममा खोलिएका फेसबुक पेजहरूमा प्रकाशन गरिएको थियो।

करिब २४ घण्टासम्म रहेका ती विज्ञापन फेसबुकले हटाउनु पहिले लाखौँले हेरेका थिए।

"फेसबुकले अझै पनि इमोजीका रूपमा उल्टो रातो त्रिकोण प्रयोगमा राखेको छ। त्यो हामीले प्रयोग गरेको चिन्ह जस्तै छ," ट्रम्पको चुनावी अभियानका प्रवक्ताले भने।

एक अमेरिकी नागरिक जोर्ज फ्लोइडको मृत्यु पछि भएका देशव्यापी प्रदर्शनहरू एन्टिफाले सुरु गरेको हालसालै मात्रै ट्रम्पले आरोप लगाएका थिए।

उनले त्यो समूहलाई "आन्तरिक आतङ्कवादी सङ्गठन" समेत भनेका छन्। तर कानुनका ज्ञाताहरूले भने त्यस्तो भन्ने उनलाई चुनौती दिएका छन्।

एन्टिफाले जातीय विभेद लगायतका विषयमा आवाज उठाउँदै आएको छ। उक्त समूहको निश्चित नेता नरहेको बताइएको छ।