तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोरोना भाइरस ब्रिटेन: दुई मिटरको सामाजिक दूरी नियम समीक्षा गरिने
ब्रिटिश प्रधानमन्त्री बोरिश जोन्सनले २ मिटरको (६ फिट) सामाजिक दूरी कायम गर्ने नियमलाई समीक्षा गर्न आदेश दिएका छन्।
व्यवसायिक क्षेत्र र जोन्सनका केही सांसद्हरूले दुई मिटरकै दूरी कायम राखेर आतिथ्य क्षेत्रको ठूलो हिस्सा काम गर्न नसक्ने बताएका थिए।
उक्त समीक्षा ४ जुलाईसम्म सम्पन्न गरिने अपेक्षा गरिएको छ।
र सक्दो छिटो पब र रेष्टुराँहरू खोल्न सकिने ठानिएको छ।
कस्तो समीक्षा?
पूर्व कन्जर्भेटिभ नेता सर इयान डङ्कन स्मिथले त्यस्तो समीक्षाको औचित्यमाथि प्रश्न उठाउँदै भनेका छन्- "प्रमाण हामीसँग अहिले नै छ।"
"त्यहाँ समीक्षा भए पनि नभए पनि त्यो प्रधानमन्त्रीसामु राजनीतिक निर्णय गर्नुपर्ने अवस्थामा पुग्नेछ," यसअघि दुई मिटरको दूरीले आर्थिक क्षेत्र तङ्ग्रिन ढिलो हुने बताएका सर इयानले भने।
"उनले अहिले अर्थतन्त्रको राम्रोका लागि निर्णय गर्नुपर्छ। यदि समीक्षा गरिने हो भने त्यो छिटो हुनुपर्छ।"
त्यस्तो समीक्षाबारे आइतवार पहिलोपटक द मेल पत्रिकामा समाचार छापिएको थियो।
जसमा उल्लेख गरिए अनुसार समीक्षा गर्दा वैज्ञानिकका साथै अर्थशास्त्रीहरूको समेत धारणा लिइनेछ।
ब्रिटेनमा दूरी किन धेरै छ?
यतिखेर यूकेको सरकारले मानिसहरूलाई कोरोनाभाइरस फैलनबाट बच्न अन्य मानिसहरूभन्दा २ मिटर पर रहन सुझाएको छ।
लण्डनको त्यस्तो सुझाव विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को भन्दा बढि हो।
डब्ल्यूएचओले फ्रान्स र डेनमार्कलेझैँ कम्तीमा एक मिटर (तीन फिटभन्दा केही बढी) दूरी कायम राख्न सुझाएको छ।
तर यूके सरकारका सल्लाहकार रहेका वैज्ञानिकहरूले दुई मिटरको तुलनामा एक मिटर मात्र दूरी कायम गर्दा जोखिम १० गुणा बढ्ता हुने बताएका थिए।
यद्यपि भाइरस महामारीको मार खेपिरहेको यूकेको अर्थतन्त्रमा यस नियमको प्रभावबारे अहिले निकै चासो बढेको छ।
प्रभाव
केही बार तथा रेष्टुराँ एवम् पबहरूले दुई मिटरको दूरी कायम गरेमा आफ्ना व्यवसाय खुला गर्दा समेत कुनै मुनाफा कमाउन नसकिने बताए।
त्यस्तो दूरी नघटाइए दशौँ हजारको रोजगारी गुम्ने पर्यटन व्यावसायीहरूले बताएका छन्।
यूके हस्पिटालिटी नामको सङ्गठनका प्रमुख कार्यकारी केट निक्होल्सका अनुसार दुई मिटरको दूरी कायम हुँदा व्यवसायहरूले सामान्य समयको तुलनामा ३० प्रतिशत आम्दानी गर्न सक्नेछन्।
"जबकी १ मिटरको दूरी कायम हुँदा त्यस्तो आम्दानी अरूबेला भन्दा ६० देखि ७५ प्रतिशत पुग्ने देखिन्छ।"
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ