कोरोना भाइरस नेपाल: थप ९ जनामा सङ्क्रमण पुष्टि

कोरोनाभाइरस

तस्बिर स्रोत, Reuters

Published

नेपालमा थप ९ जनामा कोरोनाभइरस सङ्क्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा हालसम्म सङ्क्रमितको सङ्ख्या २५८ पुगेको छ।

शुक्रवार बिहान स्वास्थ्य मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार मकवानपुरका एकजना ३७ वर्षिय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

बाँकी अन्य सबै १८ देखि ३६ वर्षिय पुरुषहरू बाँके जिल्लाको नैनापुरका हुन्।

शुक्रवार सङ्क्रमण पुष्टि भएका सबै पुरुषहरू युवा देखिएका छन्।

उनीहरूको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डू र भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएको थियो।

सङ्क्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

परीक्षण

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि पीसीआर विधिबाट २२,६७३ वटा परीक्षण गरिएको छ।

देशभरि १५,६०० जना क्वारन्टीनमा र २७२ जना आइसोलेशनमा अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्।

काठमाण्डू उपत्यकामा छ जना आइसोलेशनमा छन्।

कोरोनाभाइरस ब्यानर

हालसम्म सङक्रमितमध्ये ३५ जना निको भइसकेको मन्त्रालयले जनाएको छ।

अहिले ५३,८३५ जनालाई क्वारन्टीनमा राख्न शय्या भएको मन्त्रालयले जनाएको छ।

नेपालमा प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्क्रमित भेटिएका छन्।

बाँकेका सङ्क्रमित को हुन्?

बाँकेमा सङ्क्रमण पुष्टि भएका सबै आठ जना भारतबाट फर्किएर क्वारन्टीनमा बसिरहेका व्यक्ति भएको बुझिएको छ।

उनीहरू नरैनापुर गाउँपालिकाका विभिन्न वडाका बासिन्दा हुन्।

भेरी अस्पतालमा गरिएको परीक्षणमा १८ देखि ३६ वर्ष उमेरका ती पुरुषमा सङ्क्रमण देखिएको हो। अहिले नरैनापुरमा ४४१ जना क्वारन्टीनमा छन्।

नयाँ सङ्क्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर वा नेपालगञ्जस्थित डेन्टल अस्पतालमा चिकित्सकीय निगरानीमा अलग्गै (आइसोलेशनमा) राख्ने विषयमा छलफल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रदेश नं ५ को बाँके जिल्लामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ३३ पुगेको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर