कोरोना भाइरस नेपालः कुल सङ्क्रमित सङ्ख्या १०९, उदयपुरका महिला 'पहिलो जाँचमा नेगेटिभ, दोस्रोमा पोजिटिभ'

कोरोनाभाइरस परीक्षण

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, बिरामी वा सङ्क्रमण भएको शङ्का भएका व्यक्तिबाट सङ्कलित नमुनामा कोरोनाभाइरस परीक्षण गर्न पीसीआर विधि प्रयोग गरिन्छ
Published

नेपालमा थप सातजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ।

मन्त्रालद्वारा शनिवार बिहान जारी विज्ञप्ति अनुसार योसँगै नेपालभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या १०९ पुगेको छ।

काठमाण्डूको टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालमा नमुना परीक्षण गरिँदा नयाँ सात जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सङ्क्रमितहरू उदयपुर भुल्केका १८, ४५ र ६५ वर्षका महिलाहरू र कपिलवस्तुका १७, १८ र १८ वर्षका पुरुषहरू तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुष छन्।

उनीहरूको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

कोरोनाभाइरस

दोस्रो परीक्षणमा सङ्क्रमण देखियो

विराटनगरस्थित हाम्रा संवाददाता विक्रम निरौलाले जनाए अनुसार उदयपुरका नयाँ सङ्क्रमितहरूमा यसअघि पीसीआर विधिबाट गरिएको परीक्षण नेगेटिभ आएको अधिकारीहरूले बताएका छन्।

ती महिला यसअघि नेपाली सेनाको टोलीले नमुना स्वाब लिएर टेकुमा परीक्षण गरेका स्थानीय २९१ जनामध्येकै भएको बताइएको छ।

ती महिलाहरूको पुन: नमुना स्वाब सङ्कलन गरी कोशी अस्पतालमा परीक्षण गर्दा पोजिटिभ देखिएको प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले बीबीसीलाई बताए।

उनले भने सीलबन्दी गरिएको भुल्के क्षेत्रलाई अलि खुकुलो गर्ने तयारी स्वरूप बुधवार स्थानीय ३३४ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो।

त्यसमध्ये अब करीब एक सय जनाको स्वाब नमुनाको परीक्षण रिपोर्ट आउन बाँकी रहको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले बताए।

सङ्क्रमितमध्ये उदयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षीया महिला छन्।

योसँगै उदयपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या ३१ र प्रदेश नं १ मा ३४ पुगेको छ। तीमध्ये १४ जना निको भएर बिदा भइसकेका छन्।

हाल विराटनगरमा १७ जना सङ्क्रमितहरूको उपचार भइरहेको छ।

नयाँ सङ्क्रमित तीनजना महिलालाई पनि उपचारका लागि कोशी अस्पताल विराटनगरको कोभिड-१९ उपचार केन्द्रमा ल्याउने तयारी भइरहेको बताइएको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर