त्रिभुवन आर्मी क्लबको आत्मघाती गोलसँगै ए-डिभिजन उपाधी मछिन्द्रलाई

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- Published
काठमान्डूको मछिन्द्र क्लबले नेपाली फुटबलको प्रतिष्ठित मानिने शहीद स्मारक ए-डिभिजन लीगको उपाधि जितेको छ।
शनिवार दशरथ रंगशालामा भएको अन्तिम खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई १-०ले पराजित गरेपछि मछिन्द्र बहालको क्लब नेपाली क्लब फुटबलको नयाँ च्याम्पियनका रुपमा उदाएको हो।
आज उपाधि जित्न सेनाको टोलीलाई खेल बराबरी गरे पुग्थ्यो भने मछिन्द्रलाई जित अपरिहार्य थियो।
यस्तोमा खेलको निर्णय भने आत्मघाती गोलबाट हुनपुग्यो।
खेलको ३३औं मिनेटमा मछिन्द्रका खेलाडी रञ्जित धिमालले प्रहार गरेको फ्रि-किक प्रहार सेनाका विकास तामाङले जोगाउन खोज्दा बल आफ्नै गोलपोष्टमा छिर्न पुगेको थियो।
पछि त्यहि एउटा गोलबाट नै खेलको निर्णय भयो।
सेनाका प्रशिक्षक नविन न्यौपानेले भने- "जुन रुपमा खेल टुङ्ग्याउने योजना थियो, भएन। भाग्यले पनि साथ दिएन। मछिन्द्रलाई वधाई।"
पुरस्कार
उपाधि सहित लिग विजेता मछिन्द्रले ५० लाख रूपैयाँ पुरस्कार प्राप्त गर्यो।
उपविजेता त्रिभुवन आर्मी क्लबले ३५ लाख रूपैयाँ पायो।
पहिलोदेखि छैटौं स्थानसम्मका क्लबले नगद पुरस्कार पाएका छन् भने ती क्लबहरु आगामी वैशाखमा हुने राष्ट्रिय लिगका लागि पनि छनोट भएका छन्।
यद्यपि विगतमाझैँ विजेताको हैसियतले मछिन्द्रले एसियाली क्लब फुटबलको एएफसी प्रेसिडेन्ट्स कपमा भने सहभागिता जनाउन पाएन।
ए-डिभिजन क्लबका लागि योग्य हुन न्युनतम पूर्वाधार नपुगेको भन्दै विश्व फुटबल महासङ्घ फिफाले नेपाली क्लबको एसियामा खेल्ने प्रावधान रोकिदिएको छ।
चार महिनादेखि सञ्चालन भइरहेको प्रतियोगितामा १४ वटा ए-डिभिजन क्लबको सहभागिता थियो।
जसमा प्रत्येक क्लबले एक अर्कासँग खेलेपछि मछिन्द्रले सबैभन्दा उच्च ३१ अङ्क प्राप्त गर्यो।

अन्तिम खेल अगाडिसम्म मछिन्द्र र सेना दुबैले समान ९/९ खेलमा जित, २/२ खेल बराबरी र १/१ खेलमा हार ब्यहोरेका थिए।
तर गतवर्ष मच्छिन्द्र अन्तिमबाट दोस्रो स्थानमा रहेको कारण यसपालीको लिगमा टोलीको एक अङ्क काटिएको थियो।
काटिएको त्यहि एक अङ्क सेनाका लागि फाइदा बन्न सक्ने आकलन समेत गरिएको थियो।
च्याम्पियन क्लबका प्रशिक्षक प्रवेश कटुवालले जितपछि बीबीसीसँग भने- "हामीसँग अनुभवी खेलाडीहरु थिए। र 'डेड बल' मा उनीहरु राम्रा थिए। त्यसकै फाइदा उठाउने रणनीति बुनिएको थियो। त्यसैबाट गोल पनि निस्कियो।"
नयाँ च्याम्पियनको कथा
न्यूरोड छेउको मछिन्द्र बहालमा रहेको यो क्लबले २९ बर्ष बी-डिभिजन लिग खेलेपछि २०६० सालमा ए-डिभिजन लिगमा बढुवा भएको थियो।
त्यसयता विगत १० वर्ष लिगको मध्यतालिकामा सङ्घर्ष गर्दै आएको टोली गतवर्ष पुछारको दोस्रो स्थानमा नै पुगेको थियो।
तर पुछारको यो टोलीले यो वर्ष थुप्रै लगानी गर्दै राष्ट्रिय टोलीका मुख्य खेलाडीहरुलाई क्लबमा अनुबन्धन गरेर बलियो टोली बनाएको थियो।
क्लबका म्यानेजर अनिल श्रेष्ठले भने- "चाहेको लक्ष्य हामीले प्राप्त गर्यौं। अब मछिन्द्रले नेपाली क्लब फुटबलमा तहल्का मच्चाउनेछ।"
मछिन्द्रले यसपाली ठूलो लगानीका साथै खेलाडीहरुलाई राम्रो सुविधा समेत दिएको बताइन्छ।
मछिन्द्रका रक्षक विराज महर्जनले भने- "यो जित क्लबको चुस्त व्यवस्थापन र टिमवर्कको कारण पनि हो। क्लब अधिकारीहरुले खेलाडीहरुलाई राम्रो हौसला दियो। "
एउटा टोली बी-डिभिजनमा झर्ने प्रावधान अनुसार सरस्वती क्लब भने बी-डिभिजन लिगमा घटुवा हुन पुगेको छ।
सरस्वतीले खेलेको १३ खेलमा एकमा जित र एक बराबरी गर्नु अलावा बाँकी ११ खेल हारेको थियो।
व्यक्तिगत पुरस्कार कसले के जिते ?
उत्कृष्ट युवा खेलाडी- दर्शन गुरुङ (एनआरटी)
उत्कृष्ट गोलरक्षक- दिप कार्की (मनाङ)

उत्कृष्ट डिफेन्डर- अनन्त तामाङ (थ्री स्टार)
उत्कृष्ट मिडफिल्डर- विशाल राई 'बी' (मछिन्द्र)
उत्कृष्ट फरवार्ड- भरत खवास (आर्मी)
उत्कृष्ट प्रशिक्षक- प्रवेश कटुवाल (मछिन्द्र)
फेयर प्ले- थ्रीस्टार क्लब
फेयर प्ले पाएका थ्री स्टार र युवा खेलाडी गुरुङले एक/ एक लाख पाए भने अन्य विधाका खेलाडीहरुले एक लाख ५० हजार प्राप्त गरे।




















