इन्टर्पोलका पूर्वप्रमुख मङ खुङ्वेलाई चीनमा साढे १३ वर्ष जेलसजाय

मङ

तस्बिर स्रोत, AFP

Published

घुसखोरीको आरोप लागेका अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका पूवर्प्रमुखलाई एक चिनियाँ अदालतले १३ वर्ष छ महिनाको जेलसजाय सुनाएको छ।

मङ खुङ्वे इन्टर्पोलको नेतृत्व गर्ने पहिलो चिनियाँ नागरिक थिए। सन् २०१८ को सेप्टेम्बरमा फ्रान्सबाट चीन गएका उनी बेपत्ता भएका थिए।

भ्रष्टाचार विरुद्धको राष्ट्रपति सी जिन्पिङको अभियान अन्तर्गत उनलाई पक्राउ गरिएको चीनले पुष्टि गरेको थियो।

मङले २० लाख अमेरिकी डलरभन्दा बढी घुस लिएको स्वीकारेका छन्।

तिआन्जिन नं. वान पिपल्स कोर्टले ५६ वर्षीय मङलाई २० लाख युवान जरिवाना तिर्न पनि आदेश दिएको छ।

अदालतका अनुसार मङले फैसलाविरुद्ध पुनरावेदन नगर्ने बताएका छन्।

बर्खास्त

इन्टर्पोलको मुख्यालय रहेको फ्रान्सबाट सन् २०१८ को सेप्टेम्बरमा चीन गएका मङ बेपत्ता भए।

इन्टरपोल प्रमुखका रूपमा उनको कार्यकाल सन् २०२० सम्म थियो।

तर इन्टर्पोलका अनुसार मङ हराएको भनेर उनकी श्रीमतीले बताएको केही दिनपछि उनले राजीनामा दिए।

पछि अक्टोबरमा चिनियाँ अधिकारीहरूले उनलाई पक्राउ गरिएको पुष्टि गरे। घुस लिएको अभियोगमा उनीमाथि छानबिन भइरहेको अधिकारीहरूले बताए।

मङ

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, फाइल तस्बिर

मङले व्यक्तिगत फाइदाका लागि पदको दुरुपयोग र परिवारको "निकै खर्चालु जीवनशैली"का लागि राज्यकोषको अनुचित प्रयोग र कम्युनिस्ट पार्टीका सिद्धान्तलाई बेवास्ता गरेको आरोप लगाइएको थियो।

चिनियाँ कम्युनिस्ट पार्टीको 'सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्सेप्शन' का अनुसार उनलाई पार्टीबाट निकाला गरी सबै सरकारी पदबाट बर्खास्त गरियो।

अदालतमा सुनुवाइका क्रममा गत वर्ष मङले गल्ती अस्वीकार गरेका थिए।

हाल फ्रान्समा राजनीतिक शरण लिइरहेकी मङकी श्रीमतीले उनीमाथि लगाइएका आरोप राजनीतिक रूपमा अभिप्रेरित भएको बताएकी छन्।

भ्रष्टाचार विरुद्धको चिनियाँ राष्ट्रपति सीको अभियान उनका कतिपय राजनीतिक प्रतिद्वन्द्वीहरूको आवाज दबाउने कार्यका लागि समेत प्रयोग गर्ने गरिएको आलोचकहरू बताउँछन्।

Presentational grey line

मङ खुङ्वे

  • नोभेम्बर २०१६ मा इन्टर्पोलको अध्यक्ष निर्वाचित
  • कार्यकाल सन् २०२० सम्म
  • चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारी
  • चीनका सार्वजनिक सुरक्षा मामिलाका भूतपूर्व उपमन्त्री
  • आपराधिक न्याय र प्रहरी सङ्गठनमा ४० वर्ष लामो अनुभव

सन् २०१६ मा इन्टर्पोलमा अध्यक्ष निर्वाचित हुनुभन्दा अघि उनी चीन सरकारमा सार्वजनिक सुरक्षा मामिलाका उपमन्त्री थिए।

उनी इन्टर्पोलमा निर्वाचित भएपछि मानवाधिकारवादी समूहहरूले भिन्न राजनीतिक मत राखेर चीन छोडेकाहरूलाई उनीमार्फत् खोज्न चीनलाई सहयोग पुग्न सक्ने भन्दै टिप्पणी गरेका थिए।

तर मङले संसारभरि प्रहरीलाई बलियो बनाउन काम गर्ने बताएका थिए।

इन्टर्पोलका अनुसार उनीसँग आपराधिक न्याय, लागुऔषध, प्रतिआतङ्कवाद र सीमा सुरक्षाबारे ४० वर्ष लामो अनुभव छ।