पूरा भएन विश्व कीर्तिमानी होचा व्यक्ति खगेन्द्र थापा मगरको विवाह गर्ने धोको

खगेन्द्र थापा मगर

तस्बिर स्रोत, Dinnath Baral

    • Author, नारायण कार्की
    • Role, बीबीसी न्यूज नेपाली, पोखरा
  • Published

बाग्लुङको सुदूरवर्ती गाउँको सामान्य परिवारमा जन्मेर असामान्य शारीरिक अवस्था भएको व्यक्तिले नेपालमा मात्र नभएर विश्वमै नाम कमाउँछ भन्ने कसैले कल्पना गरेको थिएन।

रूपबहादुर थापा र धनमाया थापाका जेठो छोरा खगेन्द्र थापा मगर जन्मँदा ६०० ग्रामका थिए।

कोटको खल्तीमा राखेर हिँड्न मिल्ने होचो कद भएका खगेन्द्रलाई चर्चामा आउन भने करिब १३ वर्ष लाग्यो तर त्यसपछि उनी विश्वभर चर्चित भए।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा विश्वकै होचा व्यक्तिको रूपमा नाम लेखाएका खगेन्द्रको शुक्रवार २७ वर्षको उमेरमा मृत्यु भएको छ।

अपुरो रहर

विश्वकै पुड्को भएर पनि व्यक्तित्व भने उँचो बनाएका खगेन्द्रको विवाह गर्ने धोको भने पूरा भएन।

खगेन्द्र प्रतिष्ठानका अध्यक्ष मीनबहादुर थापाकी श्रीमती धनकुमारी रानाले शनिवार उनको अन्त्येष्टि सुरु हुनुअघि यो कुराको स्मरण गरेकी थिइन।

खगेन्द्रले होचो व्यक्तिकै हैसियतले अमेरिका, जापान, दक्षिण कोरिया, फ्रान्स र इटलीलगायत एक दर्जन मुलुकको भ्रमण गरेका थिए।

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स खगेन्द्रले 'आफ्नो सानो आकारलाई सुखमय जीवन जिउन रोक्न नदिएको' बताएको छ।

विश्व कीर्तिमान

आमा धनमाया खगेन्द्रलाई हुर्काउँदाको कष्ट सम्झँदै भन्छिन्, "एउटा हातको हत्केलामा राखेर तेल लगाउनु पर्थ्यो। बारम्बार बिरामी भइरहन्थ्यो।"

पोखरासम्म ल्याएर उनलाई चिनाउने जस धेरै हदसम्म खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष पोखराका मीनबहादुर थापालाई जान्छ।

प्रतिष्ठानको प्रयासमा उनलाई विश्वकै होचा व्यक्तिका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रयत्न स्वरूप १८ वर्षको उमेर पुगेपछि गिनिज बुक वर्ल्ड रेकर्ड्सले पोखरामै आएर नापजाँच गरेको थियो।

खगेन्द्र दुई फिट ४१ इञ्च अर्थात् ६७.०८ सेन्टिमिटरका थिए।

खगेन्द्र थापा मगर

तस्बिर स्रोत, Getty Images

नाचगानमा रुचि

खगेन्द्रका भाइ महेश थापा मगर आफ्ना दाजु खगेन्द्रलाई गीत गाउन र मादल बजाउन रुचि भएको बताउँछन्।

दाजुकै कारण बाग्लुङको विकट क्षेत्रबाट पोखरा आउन पाएको भन्ने उनको परिवारलाई दाजुको बिछोड नपुरिने घाउ भएको मान्छन्।

पोखरा आएपछि सरस्वती आवासीय विद्यालयमा भर्ना भएका खगेन्द्र पढाइमा सुस्त थिए।

तर नाचगान र साथीभाइसँग रमाइलो गर्ने कुरामा भने अग्रसर हुने स्वभावको भएको विद्यालयका संस्थापक दुर्गाबहादुर थापाले बताए।

⁣⁣सन् २०१० मा खगेन्द्रलाई इटलीमा भेटेका गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सका प्रधान सम्पादक क्रेग ग्लेन्डेले भनेका छन्: ⁣"उनको चम्किलो मुस्कानले उनलाई भेटेने जो कोहीको पनि मन पग्लिन्थ्यो।"⁣

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

खगेन्द्रलाई नेपाल पर्यटन वर्ष २०११ को सद्भावना दूत पनि बनाइएको थियो।

पहिले मासुमा रुचि भए पनि केही वर्षयता खगेन्द्रले मासु खान छाडेका थिए। उनको पूजापाठमा पनि रुचि थियो ।

श्वासप्रश्वास र मुटुलगायतका समस्याबाट बारम्बार बिरामी भइरहने खगेन्द्र पछिल्लो समय निमोनियाबाट पीडित भए पछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका थिए ।

नेपाललाई चिनाउन भूमिका निर्वाह गरे पनि उनको जीवन निर्वाहका लागि भने सरकारी निकायबाट ध्यान नदिइएको गुनासो प्रतिष्ठानका अध्यक्ष थापाको छ।

उनले भने: "सहयोग त परै जाओस्, एउटा फूलसम्म पनि सरकारी निकायले दिएन।"